डोटीमा जीपबाट खसेर प्रहरीका सहायक हवल्दार घाइते

डोटी : डोटीमा जीपबाट खसेर नेपाल प्रहरीका एक जना सहायक हवल्दार घाइते भएका छन्। घाइते हुनेमा डडेल्धुराको अजयमेरु गाउँपालिका २ रोल्लीका गम्भीर सिंह साहु रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानाएको छ।

उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। शनिवार अपराह्न साहु जीपको पछाडिबाट सडकमा खसेको बताइएको छ।

जिल्ला सदरमुकाम सिलगढीबाट १५ जना बोकेर पूर्वीचौकी साझघाट जाँदै गरेको से १ ज ७७३ नम्बरको जीपबाट सहायक हवल्दार साहु पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर १ बुढाबाँज भन्ने स्थानमा खसेका थिए।

जीपमा अन्य १४ जना सवार सकुशल रहेका छन्। जीप चालक पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका उदय सिं नेगीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्रीवास्तवले जानकारी दिएको छ।

चालकले मादक पदार्थ सेवन गरेर जीप चलाएको पाइएकाले घटनाबारे थप अनुसन्धान भइरहेको श्रीवास्तवले जानकारी दिए।

Dhangadhi 2081
Loading...