कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले बजार क्षेत्रको फुटपाथ खाली गराउन सुरु गरेको छ। महेन्द्रनगर बजार क्षेत्रका केही व्यवसायीले फुटपाथ मिचेर सामान राख्नेदेखि भौतिक संरचना निर्माण गर्नेसम्मका कार्य गरेपछि खाली गर्न सुरु गरिएको हो ।
सोमबारदेखि बजार क्षेत्रका फुटपाथमा राखिएका सामान पालिकाले नियन्त्रणमा लिएको छ। फुटपाथमा राखिएका साइनबोर्ड, टेबुल, भर्याङसहितका सामान नगरपालिकाले हटाएको हो। बजार क्षेत्रमा व्यवसायीले पैदल यात्रुलाई समस्या हुने गरी फुटपाथ कब्जा गरेपछि नगरपालिका एक्सनमा उत्रिएको हो ।
भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखक (जोशी)ले व्यवसायीहरूले फुटपाथ कब्जा गरेको व्यापक जनगुनासो आएपछि पालिका एक्सनमा उत्रिएको बताइन् ।
पटकपटक सूचना आह्वान, अनुरोध एवं अनुनयविनय गर्दासमेत अटेरी गरेपछि बाध्य भएर संरचना हटाउन सुरु गरेको उपमेयर लेखकले बताइन् । नगरपालिकाले व्यापारीले कब्जा गरेको फुटपाथ हटाउन थालेपछि स्थानीयवासीले सो कदमको स्वागत गरेका छन् ।