अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–२, अत्तरिया स्थित पि.एफ.ए. स्पोर्ट्स क्लबको आयोजनामा “खुल्ला पुरुष फुटबल मेयर कप २०८३” सञ्चालन हुने भएको छ।
आयोजक क्लबले आज (बिहिबार) पत्रकार सम्मेलनमा ट्रफी र टाइसिट सार्वजनिक गर्दै प्रतियोगिता हुने जानकारी गराएको हो।
प्रतियोगिता गोदावरी नगरपालिका वडा नं. २ स्थित बनदेवी युवा क्लबको खेल मैदानमा असार ५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा गोदावरी नगरपालिकाका विभिन्न १० वडाका टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी हुन चाहने टोलीले रु. ३,००० दर्ता शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ। साथै, सम्बन्धित वडाका खेलाडीहरूलाई मात्र सहभागी गराइने नियमावलीमा उल्लेख छ।
प्रतियोगिता अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले जारी गरेको “लज अफ द गेम” अनुसार सञ्चालन गरिनेछ। खेल नकआउट प्रणालीमा खेलाइनेछ भने प्रत्येक खेल ९० मिनेट (४५–४५ मिनेटका दुई हाफ) को हुनेछ। निर्धारित समयमा खेल बराबरी भएमा खेलको निर्णय सिधै टाइब्रेकरमार्फत गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी प्रत्येक टोलीले १८ जना खेलाडी र ३ जना अफिसियल (प्रशिक्षक, टिम म्यानेजर र फिजियो) सहितको नामावली आयोजकलाई उपलब्ध गराउनुपर्नेछ। प्रत्येक खेलमा वैकल्पिक ७ खेलाडीमध्ये गोलरक्षकसहित अधिकतम ७ खेलाडी परिवर्तन गर्न पाइने व्यवस्था गरिएको छ।
प्रतियोगिताको विजेता टोलीलाई ट्रफी, प्रमाणपत्र, मेडलसहित रु. ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ। उपविजेता टोलीले ट्रफी, प्रमाणपत्र, मेडलसहित रु. २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ।
त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. १० हजार, उत्कृष्ट गोलरक्षकलाई रु. ५ हजार, उत्कृष्ट उदयीमान खेलाडीलाई रु. ५ हजार, उत्कृष्ट मिडफिल्डरलाई रु. ५ हजार, उत्कृष्ट अग्रपंक्ति खेलाडी (स्ट्राइकर) लाई रु. ५ हजार तथा म्यान अफ द म्याच लाई प्रत्येक खेलमा रु. १ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
स्थानीय खेलकुदको विकास, प्रतिभा पहिचान तथा युवाहरूलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ। प्रतियोगिताले गोदावरी नगरपालिकाभित्र फुटबल खेलको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।