अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बालअधिकार समितिको बैठक सम्पन्न भएको छ । नगरउपप्रमुख द्रोपती रानाको अध्यक्षतामा समितिको बैठक सम्पन्न भएको हो ।
वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्ल्यूए को सहजीकरणमा नगरपालिकाको महिला विकास शाखाले बैठकको आयोजना गरेको थियो ।
बैठकले दुई वटा निर्णयहरु पारित गरेको छ । बैठकमार्फत बालविवाह सम्बन्धी निति बनाउने र बालकोष सञ्चालन गर्ने सम्बन्धी दुई ओटा निर्णयहरु पारित गरिएको बताईएको छ । बैठकमा बोल्दै उपप्रमुख रानाले बालविवाह मात्रै नभई लागुपदार्ग र बालश्रम सम्बन्धी पनि निति बनाउन आवश्यक रहेको बताईन ।
उनले बैठकले बनाएका नितिहरुको सबैले कार्यान्वयन गर्न जरुरी रहेको बताईन । त्यसका साथै उक्त नितिहरुका बारेमा आफुले कार्यपालिका बैठकमा छलफल गर्ने समेत उनले बताईन ।
वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र राष्ट्रिय समाज कल्याण संघ को साझेदारीमा संचालन भईरहेको बाल संरक्षण तथा स्पोन्सरसीप परियोजना अन्तरगत उक्त समिति गठन गरिएको थियो ।
समितिले नगरपालिकाको बाल संरक्षणका सवाल न्यूनीकरणका लागि नियमित रुपमा बैठक बस्ने गरेको परियोजनाका बाल संरक्षण अधिकृत गणेश भुलले बताए । बैठकमा बाल अधिकार समितिका सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो ।
