गोदावरी नगरपालिकालाई नवनिर्मित प्रशासकीय भवन हस्तान्तरण, ४ गते उद्घाटन गरिने

अत्तरिया : एडीबीको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालय धनगढीले निर्माण गरेको कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । आज (मंगलबार) नगरपालिकामा एक कार्यक्रमका विच क्षेत्रीय सहरी विकास कार्यालय धनगढीका ईन्जिनियर शौरभ कलौनीले नगरप्रमुख बिरेन्द्र भट्टलाई भवन हस्तान्तरण गरेका हुन् ।

भवन निर्माणका लागि शर्मा एण्ड कम्पनीसंग सम्झौता भएको थियो । २०७६ साल मंसिर २० गते देखि सुरु भएको भवन निर्माणमा १३ करोड ४६ लाख १ हजार ४३ रुपैयाँ खर्च भएको आयोजना कार्यालयले जनाएको छ । भवन निर्माणको काम २०८० असोज २५ गते निर्माण सम्पन्न भएको थियो ।

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख बिरेन्द्र भट्टले लामो समय,प्रयास र बिभिन्न बाधाअडचनका साथ भवन निर्माण कार्य सम्पन्न भएको बताए । उनले भाडाको आर्थिकभार भएकाले सबैको सल्लाहमा निर्माण कार्यसंगसंगै यहि बर्षको जेठ महिनामा भाडाको भवनबाट आफ्नै निर्माण भईरहेको भवनमा सरेको बताए । ‘निर्माण कार्य पनि जारी राख्ने र प्रसासन सेवा पनि यतैबाट दिने भनेर सरेका हौ’, उनले भने ‘महिनाको साढे ४ लाख भाडा तिर्नुपर्ने आर्थिक भार परिराथ्यो त्यसैले सबै पालिकापरिवारले सल्लाह गरेर सर्नुपर्छ भनेर सर्यो ।’

नगरप्रमुख भट्टले निवर्तमान नगरप्रमुखको प्रयास र पालमा भवन स्थापित भएकोमा धन्यवाद दिए । तर भवन निर्माण सम्पन्न नभईकन भवन उद्घाटन गर्नचाहि नमिल्ने बताए ।

‘म निवर्तमान मेयर सावलाई धन्यवाद दिन चाहन्छु, उहाँको प्रयास र एडीबीले गोदावरी नगरपालिकामा एउटा ठुलो सम्पत्ती उहाँको पालामा स्थापना भयो म आभार व्यक्त गर्न चाहन्छु, तर उहाँले निर्माण कार्य सम्पन्न नहुदै आज भन्दा २ बर्ष अगाढीमा उद्घाटन गर्नुभयो त्यो चाहि सायद मिल्दैन थियो । आज हस्तान्तण भईसके पश्चात अब चाहि बिधिवत रुपमा भवनको उद्घाटन गर्न मिल्छ । २ बर्ष अगाढी नै गरे तर २ बर्ष सम्म साढे ४ लाखको दरले गोदावरी नगरपालिकाले भाडा तिरेको छ के त्यो नेकपा एमालेका साथिहरुले तिर्न सक्छन् । त्यो गलत हो । आज हामी ठाउमा नेतृत्व गरिराछौ,हामीले पनि मनोमानी गर्न पाउदैनौ यो राज्यको सम्पत्ती हो । भोलीको दिनमा हाम्रो कार्यकाल सकिदै जादा हामीले पनि बनाउदै गरेका केही अधुरा कामहरु होलान हामीले के नाम लेख्दै हिन्दीने, त्यो मिल्दैन । त्यतिबेला उद्घाटनकोे बेला सम्पुर्ण राजनितिक दलका साथिहरुले विरोध गरेका थिए । आजका दिनमा भवनको उद्घाटनका सिलसिलामा जतिपनि राजनितिक दलहरु छन् सबैले सहमति जनाउनु भएको छ, नेकपा एमाले छोड्दिनुस्’ नगरप्रमुख भट्टले भने ।

उनले भवनको यहि माघ ४ गते उद्घाटन गरिने बताएका छन् । यसअघि प्रशासकीय भवन निवर्तमान नगरप्रमुख हरि सिह साउदले २०७८ साल चैत्र १४ गते उद्घाटन गरेका थिए । आज (मंगलबार) भएको भवन हस्तान्तरण कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । तर नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधी र पार्टीबाट प्रतिनिधी भने उपस्थित भएका थिएनन् ।

निवर्तमान मेयर साउँदले आफ्नै कार्यकालमा भवन उद्घाटन होस् भन्ने मनसायका साथ त्यतिबेला निर्माणाधीन भवन उद्घाटन गरेका थिए । तर हस्तान्तरण नभएको निर्माणाधीन उधुरो भवन उद्घाटन गरिएको भन्दै उक्त समयमा स्थानीय राजनीतिक दलहरुले विरोध जनाएका थिए ।

बिभिन्न राजनितिक दलहरुले अधुरै भवन उद्घाटन गर्न लागिएको भन्दै विरोध जनाएपछि अवरोध नहोस् भनेर प्रहरीको कडा सुरक्षाबीच भवनको उद्घाटन कार्यक्रम गरिएको थियो ।

कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल कम्युनिस्ट पार्टीका नगर कमिटीहरूले उद्घाटनको दोस्रो दिन संयुक्त विज्ञप्ति जारी गर्दै निर्माणाधीन भवन उद्घाटन गरिएकोप्रति आपत्ति जनाएका थिए । तेही समयमा निर्माण सम्पन्न भएपछि भवन पुनः उद्घाटन गर्ने ६ दलले जनाएका थिए ।

Loading...