अत्तरियामा जारी महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता,दुईदिनमा ३० लाखको टिकट बिक्री 

५० हजार दर्शकहरुले अवलोकन गरेको अनुमान

अत्तरिया : कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा अहिले सम्मकै रेकर्ड ब्रेक भएको छ । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा पौष २६ गतेदेखि सञ्चालन भईरहेको महोत्सव स्थलमा यसपालि दर्शकहरुले भरिभराउ बन्यो । महोत्सव सञ्चालन भएदेखि पहिलो पटक महोत्सव स्थलमा दर्शकहरुले भरिभराउ भएको आयोजकको भनाई छ ।

महोत्सव सञ्चालनको पाँचौ दिन माघ १ गते (सोमबार) र छैठौं दिन २ गते (मंगलबार) महोत्सव स्थलमा दर्शकहरु बिहानै देखि आउन थालेका थिए । १ गतेका दिन महोत्सवमा हास्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को प्रस्तुती रहेको थियो । चर्चित नेपाली टेलिसिरियल मेरि बास्सैका कलाकार धुर्मुस र सुन्तली झण्डै ६ बर्षपछि महोत्सवमा आएका थिए । उनिहरुसंगै अन्य कलाकारहरुको पनि प्रस्तुती रहेको थियो ।

उक्त दिन माघेसंक्रान्ति परेको र गोदावरीमा बाह्र राशी दर्शन मकर मेला समेत लागेको थियो । धेरै जसो मानिसहरू बिहान गोदावरी पुगेर दिउँसो महोत्सव स्थलमा पुगेकाले पनि भिड भएको हो । उक्त दिन १२ लाखको टिकट बिक्री भएको आयोजकले बताएको छ भने १८ हजार भन्दा बढि दर्शकहरुले अवलोकन गरेको अनुमान गरिएको छ ।

त्यस्तै छैठौं दिन २ गते (मंगलबार) झनै महोत्सव स्थलमा भिडभाड बढेको थियो । महोत्सवमा पछिल्लो समयका चर्चित नायक पल शाहको प्रस्तुती रहेको थियो । नायक शाह आउने खबर पाएपछि मंगलबार महोत्सवस्थलमा दर्शकहरुले भरिभराउ बनेको थियो ।‌

आयोजकलाई नायक शाहलाई स्टेज सम्म पुर्याउन निकै हम्मे हम्मे परेको थियो । पल शाह स्टेजमा चढेपछी केहिबेर महोत्सव अस्तब्यस्त समेत भएको थियो । दर्शकहरु स्टेज सम्मै पुगेका थिए भने सुरक्षाकर्मीलाई समेत गारो भएको थियो । नायक पल शाहसंगै गायिका एलिना चौहान अनिता चलाउने, सृजना खत्री, लोकदेउडा गायक भुवन दाहाल, डान्सर दुर्गा भट्टको प्रस्तुती रहेको थियो । महोत्सव स्थलमा साँझ अबेरसम्म नै भिड रहेको थियो ।

आयोजक अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले अहिले सम्म नसोचेकै दर्शकहरुको उपस्थिति रहेको बताए । उनले सबैको साथ सहयोगका कारण महोत्सव सफल हुदै गएको र अझै राम्रो हुने अपेक्षा गरे ।

मंगलबार अत्याधिक भिड भएका कारण केहिबेर टिकट बिक्रि समेत रोकिएको‌ आयोजक अत्तरिया उद्योग बाणिज्य संघका महासचिब शंकर खड्काले बताए । उनले १८ लाखको टिकट बिक्री भएको बताउदै भिडलाई नियन्त्रण गर्न सकिने अवस्था नरहेकाले केहि मानिस टिकट बिनानै प्रवेश गरेको बताए । उनले बढी रकम उठ्ने अवस्था भएपनि भिडभाडका कारण करिब २/३ हजार भन्दा बढी दर्शकहरु टिकट नकाटेरै भित्र छिर्दा केही कम हुन गएको बताए ।

‘हिजो (मंगलबार) दर्शकहरुको संख्या उल्लेख्य थियो, गेटमा रोक्न सकिने अवस्था भएन’ उनले भने ‘गेटका सुरक्षाकर्मी सहितलाई धकेलेर करिब २/३ हजारको हाराहारीमा दर्शकहरु टिकट बिनै भित्र छिरे, जसकारण हिजो हामिले केही रकम टिकटमा गुमायौँ ।’ मंगलबार महोत्सवमा ३० हजार भन्दा बढि दर्शकहरुले अवलोकन गरेको अनुमान गरिएको छ ।

संघका महासचिब खड्काले अहिले सम्मकै रेकर्ड कायम गरेको बताए । उनले अहिले सम्म भिडभाड भएको दिन ७/८ लाखको मात्रै टिकट बिक्री हुने गरेकोमा आठौं संस्करणमा आईपुग्दा महोत्सवमा दर्शकहरुको उत्साहजनक सहभागीता रहेको बताए ।

यही पुष २६ गतेदेखी सुरु भएको महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुनेछ । समृद्ध प्रदेशको आधार, कृषि पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ २०७२ सालबाट शुरु भएको महोत्सव अहिले आठौं संस्करणको रुपमा सञ्चालन भएको छ । अत्तरिया स्थित पूर्वरोडको लामिताल परिसर पुरानै स्थानमा महोत्सव सञ्चालन भईरहेको छ ।

महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, रमाईलो मेला, थारु सँस्कृति तथा परिकार सहितको थारु गाउँ लगायत मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सवमा बिद्यार्थीहरुलाई ५० रुपैया टिकट र अन्यलाई १०० रुपैया तोकिएको छ भने अपांगता भएका व्यक्तिहरुको परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था समेत गरिएको आयोजकले बताएको छ ।

Loading...