गोदावरी नगरपालिकाको भवन उद्घाटनमा विवाद: दोस्रो पटक उद्घाटन गर्न लागेको भन्दै एमालेद्धारा नगरपालिका घेराउ
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको भवन उद्घाटनमा विवाद उत्पन्न भएको छ । एकपटक उद्घाटन गरिएको भवन पुनः उद्घाटन गरिने भन्दै विवाद उत्पन्न भएको हो । आज मेयर बिरेन्द्र भट्टले उदघाटन गर्ने कार्यक्रम तय भएको छ । यस अघि अघिल्लो सरकारका मेयर हरि सिह साउँदले भवनको २०७८ चैत्र १४ गते उदघाटन गरेका थिए । अधुरो भबन उदघाटन भएको भन्दै गठबन्धनमा रहेका दलहरुको दबाबमा काङ्ग्रेसबाट निर्बाचित मेयर भट्टले उदघाटनको तयारी गरेका हुन ।
२ वर्ष अघि तत्कालीन नेकपा एमालेबाट निर्वाचित मेयर हरि सिह साउदले शिलालेख राखेर भवन उद्घाटन गरेका थिए भने अर्को शिलालेख राखेर नेपाली कांग्रेसबाट निर्वाचित वर्तमान मेयर बिरेन्द्र भट्टले पुनःउद्घाटन गर्ने तयारी गरेका छन । मेयर भट्टले आज (बिहीबार) भवन उद्घाटनका लागि तयारी गरिरहँदा यसअघि भवन उद्घाटन गरेको पक्ष विरोधमा उत्रिएको छ ।
नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधी पार्टीका नेता कार्यकर्ताहरु बिहानैदेखी नगरपालिका पुगरे भवन घेराउ गरेका छन् । भबन पुनः उदघाटन गरिनु गलत भएको भन्दै नगरपालिका घेराउ गरिएको छ । बुधबार नेकपा एमाले गोदावरी नगर कमिटीले पत्रकार सम्मेलनको आयोजना गर्दै भवन उद्घाटन नगर्न चेतावनी समेत दिएको थियो । एमालेले बल प्रयोग गरी भवन उद्घाटन गरिए त्यसपछि आउन सक्ने गम्भीर परिस्थितिको जिम्मेवारी नगर प्रमुखले लिनुपर्ने बताएको छ ।
भवनको तत्कालीन मेयर साउदले २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए । सम्झौता अनुसारको काम नसकिदै भवन उद्घाटन गरेपछि तत्कालीन समयमा नेपाली कांग्रेस लगायत ६ राजनीतिक दलले चर्को विरोध गरेका थिए । तर, तत्कालीन मेयर साउद भने भवन निर्माण भएपछि नै उद्घाटन गरिएको दावी गर्छन ।
हालका मेयर भट्टले तत्कालीन समयमा भवन उद्घाटनको विरोध गरेका ६ राजनीतिक दलको सहमतिमा पुनः उद्घाटनको तयारी गरेका छन। भवन हस्तान्तरण नभइ उद्घाटन गरिएकाले सो उद्घाटन वैध नभएको हालका मेयर भट्टको तर्क छ । उनले भवन निर्माण सम्पन्न भएर नगरपालिकालाई हस्तान्तरण भएकाले आज उद्घाटन गर्ने बताएका छन् ।
एडीबीको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालय धनगढीले गोदावरी नगरपालिकाको प्रशासकीय भवन निर्माण गरेको थियो । २०७६ साल मंसिर २० गते देखि सुरु भएको भवन निर्माणमा १३ करोड ४६ लाख १ हजार ४३ रुपैयाँ खर्च भएको आयोजना कार्यालयले जनाएको छ । भवन निर्माणको काम २०८० असोज २५ गते निर्माण सम्पन्न भएको थियो ।
उदघाटन गर्दा पुरानो उदघाटन गरिएको बोर्ड भने नहटाइने नगरपालिका स्रोतले बताएको छ ।