अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गरिएको छ । नेकपा एमालेको विरोधकाबीच नगरप्रमुख वीरेन्द्र भट्टले भवन उद्घाटन गरेका हुन् ।
एमालेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले सो भवनको २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए । दोस्रो पटक भवनको उद्घाटन गर्न नहुने भन्दै एमालेले बिहानैदेखि नगरपालिका घेराउ गर्दै नाराबाजी गरिरहेको थियो ।
एमालेको विरोधका बाबजुद भवन उद्घाटनको पुरानो शिलालेख हटाई नयाँ शिलालेख पनि राखिएको छ । पुरानो शिलालेख हटाइएको ठाउँमा अहिले निर्वाचित जनप्रतिनिधिहरुको नामावली राखिएको छ । उद्घाटन कार्यक्रम चलिरहँदा एमालेका नेता तथा कार्यकर्ताले गेट बाहिर नाराबाजी गर्दै थिए ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बिरेन्द्र भट्टले विगतमा गलत तरिकाले भवन उद्घाटन गरिएको बताए । उनले हिजोका दिनमा दुई तले भवनको निर्माण पुरा नभएरै तत्कालीन मेयर साउदले कार्यकाल सकिने बेलामा उद्घाटन गरेको बताए । अहिले निर्माण सम्पन्न भएर एडीबीले नगरपालिकालाई हस्तान्तरण गरेकाले विधिवत रुपमा उद्घाटन गरिएको मेयर भट्टले बताएका छन् ।
त्यसबेला पनि नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका ६ राजनीतिक दलले चर्को विरोध गरेका थिए । उद्घाटन कार्यक्रममा कार्यक्रमलाई उपमेयर शारदादेवी रोकायासहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेका छन् ।
एसियाली विकास बैंक (एडीबी)को १३ करोड ४६ लाखको अनुदान सहयोगमा नगरपालिकाको प्रशासकीय भवन निर्माण गरिएको होे । २०७६ साल मंसिर २० गते देखि भवन निर्माणको काम सुरु भएको थियो ।


