कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट चार लाखका अबैध सामान बरामद

धनगढी : कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले चार लाख रुपैयाँको भन्सार छलीको सामान बरामद गरेको छ।

कैलालीबाट दुई लाख १९ हजार र कञ्चनपुरबाट एक लाख ८२ हजार रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद हो। धनगढी उपमहानगरपालिका वडा नम्बर २ को बालुवाघाटबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी २८ हजार आठ सय बराबरको कोट, स्विटर, हाईनेक, जर्सी लगायतका सामानहरू बरामद गरिएको छ।

त्रिनगर ब्यारेल नजिकबाट २० हजार बराबरको चिनी, प्याज, चना, मिठाई, साबुन, झिल्ली, स्याम्पु, खुर्सानी लगायतका सामानहरु बरामद गरिएको छ। बग्राकटानबाट अन्दाजी २४ हजार बराबरको प्याज, हरियो मटर, चना, मसला, सिमल मिर्च लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरीले बताएको छ।

यस्तै वडा नम्बर १० को चकमेलीघाटबाट ३५ हजार बराबरको मोबिल, भाँडा बर्तन, स्विटर, हाईनेक, टाउजर, सुट, बिडी लगायतका सामानहरु र टिकापुर नगरपालिका–९ खक्रौलाबाट अन्दाजी एक लाख १० हजार बराबरको प्याज बरामद गरिएको छ। उता, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ विद्युत् कार्यालय नजिकबाट भन्सार छलिको एक लाख एक हजार बराबरको कपडा, जुत्ता, पोलिथिन, गुड, चिनी, मिश्री, पेठा, तेल, चियापत्ती, जिरा, दाल लगायतका सामानहरु बरामद गरिएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडी स्थित बेलौरी सडक खण्डबाट अन्दाजी ८० हजार आठ सय बराबरको भाँडा बर्तन, प्लास्टिकको डोरी लगायतका सामानहरु बरामद गरिएको छ।

दुबै जिल्लामा बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।

Dhn_Laingik Hinsa 2082
Loading...