अत्तरिया महोत्सवमा २८ वटा नक्कली टिकट ठेली कसरी भित्रिए ?
नक्कली टिकट ठेलीका बिषयमा निष्पक्ष रुपमा छानविन गरेर कार्वाही गर्छौ : अध्यक्ष बोहरा
अत्तरिया : कैलालीको अत्तरियामा पौष २६ गतेदेखी शुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सव आज (आईतबार) समापन हुदैछ । अत्तरिया उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सव आज ११औ दिनमा समापन हुने भएको हो । यसपाली नयाँ कार्य समिती आयोजक रहेको छ । केही महिना अगाढी मात्रै अत्तरिया उद्योग बाणिज्य संघको चुनावमा निर्वाचित नयाँ कार्य समितीले पहिलो पटक महोत्सवको आयोजना गरेको हो ।
आयोजकले यसपाली महोत्सवमा दर्शकहरुको निकै साथ पाएको छ । २६ गतेबाट शुरु भएको महोत्सवमा राष्ट्रिय सार्वजनिक विदा र स्थानिय बिदा परेकाले यसपालीको महोत्सवमा दर्शकहरुको उल्लेखीय सहभागिता रहेको थियो । ७ दिनसम्म महोत्सव सव्य र भब्य तरिकाले सञ्चालन भयो तर आठौ दिनमा ४ गते बिहीबारका दिन भने महोत्सवमा नक्कली टिकटको ठेली फेला पर्यो ।
आयोजक अत्तरिया उद्योग बाणिज्य संघले गरेको छड्के अनुगनका क्रममा विहीबार टिकट कउन्टरबाट २८ ओटा नक्कली टिकट ठेली फेला पार्यो । महोत्सव विगतको भन्दा केही फरक तरिकाले सञ्चालन भईरहेका बेला महोत्सव स्थलमा भेटिएको नक्कली टिकट ठेलीले चारैतिर आलोचना भयो । महोत्सवमा टिकट काट्ने जिम्मा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) लाई दिइएको थियो । टिकट काउन्टरमा नक्कली टिकटका ठेलीहरु भेटाइसकेपछि आयोजकले शुक्रबारबाट आफै टिकट काट्न थाल्यो ।
नक्कली टिकट ठेलिका बिषयमा चारैतिरबाट आलोचना आउन थालेपछि आईतबार बिहानै आयोजक अत्तरिया उद्योग बाणिज्य संघले महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कल्याण सिंह बोहराले महोत्सवमा भेटिएका नक्कली टिकट ठेलीका बारेमा निष्पक्ष रुपमा छानविन गरेर कार्वाही गर्ने बताए । उनले जिल्ला प्रसासनमा गएर एउटा कार्य समिती गठन गरेर छानविनको दायरामा ल्याउने बताए । अध्यक्ष बोहराले सामाजिक सञ्जालमा पुरानो नयाँ कार्यसमितीको कुरा गरेर कार्य समितीलाई विभाजित गर्न खोजिएको बताए । ‘यि ठेलीको विषयमा हामी छानविन गर्छौ, दोषीलाई कारबाहीको दायरामा ल्याउँछौ’ उनले भने ‘हिजोका दिनमा फेसबुकमा हाम्रै साथिहरुले पुरानो नयाँ भनेर लेखेका छन्,हामीलाई विभाजित गर्न खोजिएको छ । यो कार्य समितीलाई नै विभाजित गर्ने गरेर लेखेको छ । बास्तवमा हामी त एक ढिक्का भएर लागेका छौ, सबैले सहयोग गरिरहेका छौ ।’
संस्थालाई अगाढी बढाउन सबैले लाग्नुपर्ने र यसमा राजनिती नगर्न संघका अध्यक्ष बोहराले आग्रह गरेका छन् । उनले यसपालिको महोत्सव सफल रुपमा सम्पन्न हुन लागेको बताउदै नक्कली टिकटले गर्दा समस्या उत्पन्न भएको बताए । नक्कली टिकट ठेली भेटिएपछि बिहीबारबाट आयोजकले टिकट बिक्री वितरण गरिरहेको उनले बताए । अध्यक्ष बोहराले कार्यसमितीको निर्णय अनुसार महोत्सवमा टिकट काट्ने जिम्मा स्ववियू बिद्यार्थीलाई दिएको बताए । ‘यहाँ अध्यक्षले फलानोलाई दियो भनेर पनि सुन्नमा आएको छ, उनले भने ‘कसै व्यक्तिले दिएको होईन् पुरा कार्यसमितीको निर्णय अनुसार टिकट काट्ने जिम्मा दिएको हो । कसैलाई आक्षप लगाउन हुदैन् ।’ अध्यक्ष बोहराले गलत गर्नेलाई कार्वाही गरेरै छोड्ने बताएका छन् । उनले कार्य समितीलाई कसरी विफल पार्ने भनेर विपक्षमा केही व्यक्ती लागि परेको समेत बताए ।
यस्तै महोत्सवमा टिकट काट्ने जिम्मा पाएको स्वतन्त्र विद्यार्थी युनियन दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका सभापति भुवन महराले आफुहरुलाई कार्यसमितिले हस्तान्तरण गरेको टिकट ठेलीबाट नै आफुहरुले बिक्री गरेको बताए । उनले कार्यसमितिले टिकट बरामद गरेको भनेर आफुहरुको बदनाम गर्न खोजीएको बताएका छन् । कार्यसमितिले आफुहरुलाई सबै प्रक्रिया पुर्याएर टिकट हस्तान्तरण गरेपछि आफुहरुले विक्री शुरु गरिने गरिएको उनले बताए ।
आयोजक अत्तरिया उद्योग वाणिज्य संघका महासचिब शंकर खड्काले महोत्सवमा भेटिएका टिकट नक्कली भएको र यसबारेमा छानबिन हुने बताए । उनले आईतबार महोत्सवको समापन कार्यक्रम भएको हुँदा आफुहरु त्यसतर्फ केन्द्रित हुनुपर्ने भएकोले ८ गतेबाट छानबिन गर्ने बताए । छड्के चेकजाँच गर्दा बिहिबार नक्कली टिकट ठेलि फेला परेको उनले बताएका हुन् ।
यस्तै टिकट छाप्ने जिम्मेवारी पाएका संस्थाका सदस्य बम बहादुर बोगटीले बरामद गरिएका टिकट ठेलीहरु पुर्ण रुपमा नक्कली भएको र ति नक्कली ठेलिहरु भएका धेरै आधारहरु रहेको बताए । उनले महोत्सवका टिकट काठमाडौंमा छपाएर सिल प्याक गरेर ल्याएको र महासचिवको रहोबरमा बुझेर सचिवले टिकट ठेली टिकट काउण्टरमा वितरण गर्दै आएको बताए । २८ ठेली नियन्त्रणमा लिदा २ वटा टिकट ठेली काटिएको अवस्थामा भेटिएका आयोजकले बताएको छ । एउटा टिकट ठेलीमा ५० वटा टिकट रहेका छन । यसरी महोत्सवबाट नक्कली टिकट ठेली भेटाएपछि महोत्सवमा यसअघि पनि नक्कली टिकट ठेली वितरण भएर आर्थिक हिनामिना भएको आशंका गरिएको छ ।
महोत्सवमा राष्ट्रिय एवम् स्थानिय चर्चित कलाकारहरूको बेजोड प्रस्तुति, थारु सँस्कृति तथा परिकार सहितको मिनी महोत्सव (थारु गाँउ), लामितालमा डुङ्गाको व्यवस्था, चर्खा, बिभिन्न खाले बाल उद्यान सहितका रमाईलो मेलाहरु रहनुका साथै १५० ओटा बिभिन्न खाले स्टलहरु रहेका छन । महोत्सवमा बिद्यार्थीहरुलाई ५० रुपैया टिकट र अन्यलाई १०० रुपैया तोकिएको छ भने अपांगता भएका व्यक्तिहरुको परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था समेत गरिएको छ ।
११ दिन सम्म सञ्चालन भएको महोत्सवको आज समापन हुदै छ । महोत्सवको मुख्य प्रर्वद्धकमा गोदावरी नगरपालिका रहेको छ भने प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । महोत्सव सभ्य र भब्य रुपमा सफल पार्न सुदुरपश्चिमको सबै क्षेत्रका कला, संस्कृति, भेषभुषा, चालचलन, कृषि, पर्यटकिय क्षेत्रलाई समेटिएको आयोजकले बताएको छ । समृद्ध प्रदेशको आधार, कृषि पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ २०७२ सालबाट शुरु भएको महोत्सव अहिले आठौं संस्करणको रुपमा सञ्चालन भएको छ । अत्तरिया स्थित पूर्वरोडको लामिताल परिसर पुरानै स्थानमा महोत्सव सञ्चालन भएको छ ।

