अत्तरिया : कञ्चनपुरको पुनर्वास नगरपालिकामा रसायनबाट स्थानीयको सयौं विघा धान बाली नष्ट भएको पुष्टि भएको छ । गएको साउन २४ र २५ गतेको बाढीका कारण डुबान भएको पुनर्वास नगरपालिका–२, ५, ७ र ९ नं वडामा धान र उखु नष्ट भएको थियो ।
पानीमा बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी) र केमिकल अक्सिजन डिमान्ड (सिओडी) को मात्रा बढी भएका कारण २४२.९ बिघामा लगाइएको धान र ११०.३ बिघामा लगाइएको उखु नष्ट भएको परीक्षणबाट पुष्टि भएको पुनर्वास नगरपालिकाले जनाएको छ ।
प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँगको समन्वयमा पुनर्वास नगरपालिकाको कार्यालयले साउन ३० र भदौ १ गते सम्बन्धित ठाउँको खेतबाट पानीको नमूना सङ्कलन गरेको थियो ।
संकलित नमूना परीक्षणका लागि कृषि अनुसन्धान केन्द्र (नार्क) मा पठाइए पनि उपकरण नभएका कारण त्यहाँ परीक्षण हुन सकेन ।
पछि काठमाडौंस्थित निजी प्रयोगशाला वाटर इञ्जिनीयरिङमा परीक्षण गर्दा साउन ३० गते संकलित नमूनामा बिओडी ५७ मिलिग्राम प्रतिलिटर र सिओडी ११४ मिलिग्राम प्रतिलिटर फेला परेको थियो ।
भदौ १ गते संकलित नमूनामा बिओडी चार र सिओडी ११ मिलिग्राम प्रतिलिटर पानीमा भेटिएको थियो ।
पानीमा बिओडी १० मिलिग्राम र सिओडी २० मिलिग्रामभन्दा बढी भएमा बोटविरुवा र जलीय प्राणी मर्ने गरेको पुनर्वास नगरपालिकाका कृषि शाखा प्रमुख कर्णबहादुर शाहीले बताए ।शाहीले भने, ‘धानबाली केमिकलकै कारण नष्ट भएको पुष्टि त भयो तर केमिकल कहाँबाट आयो भन्ने पुष्टि हुन सकेन ।’
उता, रक्सी बनाउन प्रयोग हुने पदार्थ नगरपालिकास्थित भागेश्वर सुगर मिलबाट बाढीमा बग्दा यस्तो भएको किसानको दाबी छ । यसैले, कृषिबाली सोत्तर पारेको भन्दै मिलबाट क्षतिपूर्ति भराउन प्रदेश सदनमा समेत आवाज उठेको छ।
कञ्चनपुरका प्रदेशसभा सदस्य वीरबहादुर थापाले भागेश्वर चिनी मिलबाट बगेको रसायनका कारण नै किसानले ठुलो नोक्सान बेहोर्नु परेको बताए । उनले मिलबाट किसानलाई क्षतिपूर्ति भराउन प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
विगतमा त्यस्तै बाढी आउँदा पनि यसरी क्षति नहुने ठाउँमा एकाएक धान, उखुबाली सुकेपछि किसान अचम्मित भएका थिए । दोदा नदीको माथिल्लोतिर रहेको सिमरी नदीको बाढी ओभरफ्लो भएर खेतमा जाँदा कृषिबालीमा क्षति भएको जनाइएको छ ।
‘डुबान भएपनि मिलभन्दा माथि तिरको कृषि बाली नोक्सान भएन । तर मिल र नदीभन्दा तल्लो क्षेत्रमा रहेको भू–भागमामात्रै धान र उखु सुकेको थियो ।’
केमिकलका कारण कृषिबाली सोत्तर भएको पुष्टि भएपछि पुनर्वास नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले किसानलाई राहत. क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको छ ।
नियमानुसार किसानलाई राहत÷क्षतिपूर्ति दिनका लागि जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र र जिल्ला प्रहरी कार्यालयमा सिफारिस पठाइएको विपद् व्यवस्थापन शाखाका स्रोतव्यक्ति ओमनाथ ढकालले जानकारी दिए ।
