बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय बन्द गरिएका छन । पालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएपछि रुडीस्थित माझपाटा आधारभुत विद्यालय बन्द गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक दानबहादुर धामीका अनुसार विद्यालय ब्यवस्थापन समितिको बैठक गरेर सोमबारदेखि माघ १९ गतेसम्म चार दिन विद्यालय बन्द गरिएको सुचना टाँस गरेको छ ।
उक्त विद्यालयमा एकपछि अर्को विद्यार्थी धमाधम विरामी पर्न थालेपछि संक्रमण फैलिन नदिन विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रधानाध्यापक धामीको भनाइ छ ।
स्थानीयका अनुसार एक साताअघि स्वामीकार्तिक गाउँपालिकाकै जुकोटमा रहेको शम्भुसुनन्दा माध्यमिक विद्यालयमा पनि भाइरल ज्वरोको प्रकोप देखिएको थियो ।
स्वास्थ्य कार्यालयका प्रमुख महेश चन्दले जिल्लामा कुनै जानकारी नगराएको बताए । स्वामीकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले संक्रमण प्रभावको अवस्था बुझ्ने क्रममा रहेको बताए ।