गोदावरीमा अवैध उत्खनन: नदीबाटै कब्जा भए जेसीबी र टिप्पर

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका तीन वटा नदीमा वातावरणलाई नै प्रभाव पार्ने गरि प्राकृतिक स्रोतको दोहन गरेपछि प्रशासनले हस्तक्षेप गरेको छ । जिल्लास्तरीय अनुगमन समितिको बैठकले आइतबार ती नदी अनुगमन गरेर ढुवानी साधन कब्जा गरेको हो ।

जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खगराज भुुसालले १९ सवारी साधन नियन्त्रणमा लिएको बताए । उनका अनुसार १० टिप्पर, ३/३ वटा टेक्टर, जेसीबी र स्काभेटर नियन्त्रमा लिएको हो ।

‘मापदण्ड विपरीत उत्खनन गरेको पाइएपछि हामीले नियन्त्रणमा लिएका हौ’, उनले भने । नदीबाटै नियन्त्रणमा लिएका ती साधन स्थानीय प्रशासनको जिम्मा लगाइएको उनले बताए । गोदावरी नगरपालिकाको खुटीया, खैराना र गोदावरी नदीको ढुंगा गिट्टी बालुवाको नियम विपरीत उत्खनन भएपछि जिल्लास्थित नदिजन्य पदार्थ अनुगमन समितिले आइतबार अनुगमन गरेको हो ।

सबैभन्दा बढी कैलालीको गोदावरी नदीमा वातावरण प्रभाव मुल्यांकनको अवज्ञा गर्दै उत्खनन भइरहेको छ । गोदावरी नदीमा आधादर्जन जेसीबीहरु हालिएका छन् भने वातावरण प्रभाव मूल्यांकनमा बढीमा एक मिटर गहिरो खन्न सकिने प्रावधान विपरीत ५ मिटर सम्मका ठूला ठूला खाल्टा बनाइएका छन् ।

नदीजन्य पदार्थको प्रायजसो संकलनको ठेक्का गरिन्छ तर सूचना प्रकाशित गर्दा पनि टेन्डर नपरेको भन्दै गोदावरी नगरपालिकाले गत वर्षदेखि नै आफै तीनवटै नदीबाट नदीजन्य पदार्थ संकलन गरि बिक्री गरिरहेको छ ।

खैराना खोलामा नदीको बीचमा ठूला ठूला खल्टा हुने गरी उत्खनन गरिएको छ भने बस्तीतिर रहेको नर्सरीभीत्र पनि उत्खनन गरिएपछि त्यहाँका जनता नदी गाउँ पस्ने चिन्तामा छन् । गतवर्ष आमानतमा (आफै) नदीजन्य पदार्थ संकलन गर्दा सादा कागजमा रोयल्टी संकलन गरिएको भेटाएपछि स्थानीयले विरोध गरेका थिए ।

यसपालि पनि आधाभन्दा बढी नदीजन्य पदार्थ बिना रसिद गइरहेको स्थानीयको आरोप छ । जिल्ला भरीको नदीजन्य पदार्थको अनुुगमनका लागि जिल्ला समुन्वय समितिका प्रमुखको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, बन र आन्तरिक राजश्वका प्रमुख सदस्य रहेको समिति रहने प्रावधान छ ।

केही दिनदेखि नदीजन्य पदार्थको अवैध उत्खननका खबरहरु सामजिक सञ्जालमा आएपछि, जिल्ला स्थित नदिजन्य पदार्थ अनुुगमन समितिले आईतबार नदीमा रहेका जेसीबी, टिपर र ट्र्याक्टरहरु नियन्त्रणमा लिएको हो ।

Loading...