अत्तरिया : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रथम अधिवेशन आज हुने भएको छ ।
धनगढीको शहीदगेट नजिकै रहेको सौराई स्क्वायरमा हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रदेश अध्यक्ष दामोदर भण्डारीका अनुसार उद्घाटन कार्यक्रममा महासचिव शंकर पोखरेल, केन्द्रीय कमिटी सचिव तथा कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्ट, केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छबिलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापालगायत पनि सहभागी हुनेछन् ।
उद्घाटनपछि बन्द सत्र सुरु हुने छ । आइतबार साँझदेखि राजनीतिक तथा सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत र छलफलका साथै नेतृत्व चयन प्रक्रिया अगाडि बढाइने प्रदेश अध्यक्ष भण्डारीले बताए ।
उनले उद्घाटन समारोहमा राना थारुको कला, थारु नाच, छलिया, हुड्केली लगायतका झाँकीहहरू प्रस्तुत गरिने जानकारी दिए । प्रदेशका ९ जिल्लाबाट अधिवेशनमा ६ सय ७५ प्रतिनिधि सहभागी हुनेछन् ।
प्रथम अधिवेशन सम्पन्न गराउनका लागि १५० जना स्यंमसेवक परिचालन गरिने जनाइएको छ ।
जिल्लाबाट छानिएर आएका प्रतिनिधिहरूले एमाले प्रदेशको आगामी नेतृत्व चयन गर्नेछन् । अधिवेशन सोमबार नयाँ नेतृत्व चयन गर्दै समापन हुने जनाइएको छ ।
