अत्तरिया : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका नेताहरुलाई प्रदेश अधिवेशनबाट सर्वसम्मतीबाट नेतृत्व चयन गर्न निर्देशन दिएका छन् ।
आपसमा विभाजित भएर निजी उम्मेदवार उभ्यान काम कसैले पनि नगरौ भन्दै ओलीले नेताहरु बसेर सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका हुन् ।
प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले उपत्यका विशेष प्रदेश कमिटिले सदस्यदेखि अध्यक्षसम्म सर्वसम्मत चयन गरेको कुरा स्मरण गर्दै सुदूरपश्चिमबाट पनि सोही सन्देश प्रवाह गर्न आग्रह गरे ।
‘अहिलेसम्म कही पनि सहमती हुन सकेन तर उपत्यका विशेष प्रदेश कमिटिले सदस्य र पदाधिकारी सबै सर्वसम्मत चयन गरेको छ । उहाँहरुलाई धन्यवाद छ, यो भन्दा ठूलो धन्यवाद तपाईहरु दिन पाउँ,’ ओलीले भने, ‘जिल्ला, भूगोल सबैतिर सर्वसम्मत बनाउनुस् । जसले कमिटिको नेतृत्व गर्न सक्छ सबै मिलेर उसलाई छान्नुस् । निजी उम्मेदवार उभ्याउने, जिद्दि गर्ने काम नगर्नुहो्स।’
ओलीले नेतृत्वले क्षमता, योग्यता र दक्षता हेरेर मूल्याङ्कन गर्ने बताउदै आफ्नो मूल्यांकन कसैले पनि नगर्न भन्दै सबै नेताहरु बसेर टुंगो लगाउन निर्देशन दिए । ‘नेतृत्वले काम, विचार, क्षमता हेरेर मूल्यांकन गरेको हुन्छ तर मान्दै नमान्ने होइन । सकभर नेतृत्वको भर पर्नुस्,’ उनले भने, ‘मैले केही भन्दिन् यतैका साथीहरु एक ठाउँ बसेर टुग्याउनुस् । सबैले यस्तो सल्लाह भयो भनेर भन्नुस म स्वीर्काछु ।’ निर्वाचन आयोगलाई सरसम्मान पठाइदिन पनि उनले आग्रह गरे ।
फरक प्रसंगमा बोल्दै ओलीले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको ढाकछोप गर्ने मात्र नभइ भ्रष्टाचार गरिरहेको समेत आरोप लगाएका छन् ।
उनले २ साउनमा बरामद भएको सुनको परिमाणमा प्रश्न उठाए । सुन तस्करीको अनुसन्धानमा सरकारले तमासा मात्र गरेको भदै उनले भने, ‘एमालेको सरकारको पालामा कहिले यति, कहिलो ओम्नी भन्ने, अहिले १०० केजी सुनमा ६१ केजी भयो, ३९ केजी कहाँ गयो ?’ सरकार तस्करी ढापछोप गर्न लागेकै कारण जाँचबुझ आयोग बन्न समय लागेको समेत उनले बताए ।
ब्रेक शुमा लुकाएर ल्याएको सुन भन्सार जाँचपास भइसकेको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुरुमा करिब एक क्विन्टल भनिएको सुन ब्रेक शुसहित जोख्दा १५५ किलो भएको थियो । राष्ट्र बैंकको टक्सार विभागले सुन निकालेर गालेर खोजेको थियो, जस क्रममा करिब ६१ किलो मात्र सुन भएको पुष्टि भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड जनताप्रति उत्तरदायी नभएको टिप्पणी पनि गरेका छन् । अहिले् देश चम्किने र जनता सम्झिने सरकार नभएको उनको भनाई थियो । ओलीले प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमण र धर्मकर्ममा मात्र केन्द्रीत भएको बताए ।
‘अहिले देशमा सरकार छ कि छैन ? के दुई धाम गरेर मात्रै हुन्छ ?’, उनले भने, ‘जनतालाई माया नगरेपछि, देशलाई माया नगरेपछि चन्दन लगाएर गेरुवस्त्र लगाए पनि पाप कट्दैन, मानसरोवरमा डुबुल्की लगाउदैमा पनि पाप कट्दैन ।’
प्रचण्ड नेतृत्वको सरकार आएपछि मुलुकको अर्थतन्त्र ओरालो लागेको उनको आरोप थियो । ‘नेकपा एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो । हिंसा बढिरहेको छ ।
७ प्रतिशतभन्दा माथि पु¥याइएको आर्थिक बृद्धि यो गठबन्धनले २ प्रतिशतभन्दा तल झारिसकेको छ’, उनले भने, ‘देश अप्ठेरो अवस्थामा पुगेको छ । अझै अप्ठेरो गतिमा पु¥याउनु हुँदैन ।’
