नक्कली टिकट प्रकरणः अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष र पूर्वअध्यक्ष खोज्दै प्रहरी

अत्तरिया : कैलाली प्रहरीले अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा र पूर्वअध्यक्ष अशोकराज देवकोटाको खोजी गरिरहेको छ । नक्कली टिकट प्रकरणमा नाम जोडिएपछि प्रहरीले दुबै जनाको खोजी गरिरहेको हो ।

संघका वर्तमान अध्यक्ष बोहरा र पूर्व अध्यक्ष देवकोटाको नाममा पक्राउ पुर्जी जारी भएपछि उनीहरू फरार भएका छन । कैलाली प्रहरीका प्रवक्ता कुलदिप चन्दले उनीहरु सम्पर्कमा नरहेको बताए । उनले भने, ‘घटना अनुसन्धानको चरणमा रहेको छ,उहाँहरू सम्पर्कमा आउनु भएको छैन ।’

अत्तरियामा सञ्चालित आठौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली भेटिएका थिए । नक्कली टिकट विक्री गरेको आरोप लागेका चार जना प्रहरीको हिरासतमा छन् । संघका अध्यक्ष बोहरासहितको टोलीले महासचिव शंकर खड्कासहित चार जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

ठेली छपान गर्ने बमबहादुर बोगटी, रुजु गर्ने अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का, सचिव दिलिप साउँद, बिक्रीको जिम्मा पाएका दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा प्रहरी हिरासतमा छन् । अध्यक्ष बोहराको नामसमेत नक्कली टिकट प्रकरणमा जोडिएपछि उनीहरुलाई पनि अहिले प्रहरीले खोजी गरिरहेको छ ।

महोत्सवमा अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले २८ वटा नक्कली ठेली नियन्त्रणमा लिएका थिए । उद्योग वाणिज्य संघमा मिलापत्र नभएपछि घटना प्रहरीमा पुगेको थियो । प्रहरीले यस प्रकरणमा अनुसन्धान गरिरहेको छ ।

Loading...