काठमाडौँ : इजरायलमा हमासको आक्रमणमा परी निधन भएका व्यक्तिको परिवारलाई सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले हमासको आक्रमणबाट इजरायलमा मृत्यु भएकाको परिवारलाई राहतस्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमासले शनिबार दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ’यस घटनामा निधन भएका नेपालीहरूको परिवारलाई राहतस्वरप प्रतिपरिवार दस लाख रुपैयाँ उपलब्ध गराउने । उक्त रकम अर्थ मन्त्रालयले गृहमन्त्रालयमार्फत निकासा दिने ।’
सरकारले घटनामा मृत्यु भएकाको शव पनि नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालयलाई इजरायल सरकारसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ ।
बेपत्ताको खोजीका लागि इजरायली सरकारसँग समन्वय गर्ने र घाइतेहरूलाई आवश्यक उपचारको व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
त्यस्तै नेपाल फर्कन चाहने इजरायलमा रहेका नेपाली ल्याउन सरकारले हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको जहाज पठाउने छ ।
