अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा दादुरा-रुबेला खोप अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले पालिका स्तरिय खोप समुन्वय समितिका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।
दादुरा-रुबेला खोप अभियानलाई सफल पार्नका लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बताईएको छ । गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले अभिमुखिकरण कार्यक्रमको सहजिकरण गरेका थिए । दादुरा-रुबेला रोगका बोरमा जानकारी दिनुका साथै उनले खोप अभियानको कार्यनीतिसंगै लक्ष्यको बारेमा जानकारी दिएका थिए ।

उनले ९ महिना देखी १५ बर्ष सम्मका बालबालिकामा यो संक्रमण उच्च रहेकाले सोही उमेर समुहका बालबालिकाहरुका लागि खोप अभियान सञ्चालन गरिएको बताए । उनले आफ्नो पहुँचमा रहेका व्यक्तिहरूलाई व्यापक रूपमा प्रचार प्रसार गर्न उक्त अभियान सम्बन्धी विभिन्न स्थानमाहरुमा गोष्ठी तथा अभिमुखिकरण तालिम सञ्चालन गरेको बताएका छन् । कार्यक्रममा कार्यपालिका सदस्य, वडाअध्यक्ष, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो ।
गोदावरी नगरपालिकामा फागुन १३ गते देखि शुरु भएको खोप अभियान फागुन २४ गते सम्म सञ्चालनमा रहने बताईएको छ । नगरपालिकामा अभियान सञ्चालनकालागि १ सय १३ जना स्वास्थ्यकर्मी र स्वयमसेविका खटाईएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । उनले २ सय ५० भन्दा बढी बालबालिका रहेका ९५ ओटा बिद्यालयमा खोप केन्द्रहरु रहेका बताएका छन् ।
सुदूरपश्चिममा कैलाली कञ्चनपुर दादुरा–रुबेलाको उच्च जोखिममा रहेका जिल्लाका रुपमा पहिचान गरिएको छ भने डोटी, डडेल्धुरा, बैतडी, अछाम, बाजुरा, बझाङ र दार्चुलालाई न्यून जोखिम भनी पहिचान गरिएको छ । कैलालीको गोदावरीमा गत वर्ष ५ जनामा दादुरा संक्रमण देखिएको थियो ।