अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको गोदावरी पब्लिक स्कुलले पहिलो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
शनिवार दुर्गालक्ष्मी नमुना माविका प्रधानाध्यापक शिवराज जोशीको प्रमुख अतिथ्यतामा स्कुलले पहिलो वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुका विभिन्न प्रतिभाहरु प्रस्तुत गरिएका थिए भने वर्षभरीका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो ।
हाल कक्षा ८ सम्म अध्यापन हुने उक्त विद्यालयमा १८० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका सहायक प्रधानाध्यापक सुरज कट्टेलले बताए ।
एक वर्ष अघि साबिकको मल्सिमी एकेडेमीको नाम र व्यवस्थापन परिवर्तन गरी झन्डै ३ करोडको लगानीमा सञ्चालन गरिएको स्कुलले हाल कक्षा १० सम्मको अध्यापन अनुमत पाएको स्कुलका प्रबन्ध निर्देशक हेमराज नौन्यालले बताए ।
