आजदेखि देशभर एसईई परीक्षा सुरु

काठमाडौँ : यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि सुरु हुँदै छ। आज बिहान ८ बजेदेखि सुरु हुने परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् ।

कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न–गराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गरेका छन् ।

विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन्। यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीले परीक्षामा सामेल हुन फाराम भरेका छन्। ती मध्ये ४ लाख ८० हजार परीक्षार्थीले प्रवेश पत्र लिइसकेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन्।

यस वर्ष बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३ सय ७० विद्यार्थी सहभागी हुनेछन्। त्यस्तै मधेश प्रदेशबाट ८१ हजार ३ सय १७, लुम्बनी प्रदेशबाट ७९ हजार ५ सय १६, कोशी प्रदेशबाट ७७ हजार ४ सय १५, सुदुरपश्चिम प्रदेशबाट ५५ हजार ७ सय ६८, गण्डकी प्रदेशबाट ४० हजार ९ सय ७७ विद्यार्थी छन्। सबैभन्दा कम कर्णाली प्रदेशबाट ३९ हजार ६ सय ६८ विद्यार्थी सहभागी हुनेछन्।

यो पटक जापानबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। यो वर्षदेखि विद्यार्थीले न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने व्यवस्था गरिएको छ । ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ यो वर्षदेखि कार्यान्वयनमा आएको विद्यार्थीले प्रत्येक विषयको सैद्धान्तिकमा ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने बताए ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान थियो । यो वर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको परीक्षा नियन्त्रक पौडेलले बताए ।

Dhangadhi 2081
Loading...