कोभिड–१९ को उपचार सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा एकव्यापारीसहित ६ जना र एक कम्पनीविरुद्ध मुद्दा

काठमाण्डौ : कोभिड–१९ को उपचारका लागि मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा व्यापारी विशाल पण्डितसहित छ जना व्यक्ति र एक कम्पनीविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा संलग्न सरकारी कर्मचारी र मेडिकल व्यवसायीविरुद्ध विशेष अदालत काठमाण्डौमा आज मुद्दा दायर गरेको गरेको हो । दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ राज्यलाई हानीरनोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

विराटनगरमा रहेको कोशी अस्पताल कोभिड–१९ केन्द्रमा हाई डिपेन्डेन्सी युनिट एचडीयू जडान र सञ्चालनका लागि सामग्री खरिद गर्दा परेका बोलपत्रमध्ये न्यून कबोल गर्नेलाई छनोट नगरि अनियमितता गरेको अख्तियारको दाबी छ ।

न्यून कबोल गर्ने र छनोट हुनेबीच दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँको फरक छ । अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह विक र खोप अधिकृत उदेश श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो ।

यस्तै अख्तियारले हस्पिटेक इन्टरनेशनल र बजार व्यवस्थापक लक्ष्मी आचार्यविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Loading...