१ लाखका दरले युवती बेचबिखन गर्ने २ जना पक्राउ

काठमाडौं : एक लाख रुपैयाँका दरले तीन युवतीलाई बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ घर भएका ३८ वर्षीय बच्चु विक सुनार र सोही ठाउँका ४७ वर्षीय दावा तामाङ भनिने दावा लामा छन् । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले बच्चुलाई ५ चैतमा कपनबाट र दावालाई १६ चैतमा टिकाथलीबाट पक्राउ परेको हो ।

उनीहरुले आकर्षक रोजगारीमा विदेश पठाइदिने भन्दै सिन्धुपाल्चोकका तीन युवतीलाई भारत लगेर १–१ लाख रुपैयाँका दरले बेचेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए ।

उनीहरुले ५ माघ २०६४ मा तीन जना युवतीहरुलाई काठमाडौंबाट वीरगञ्ज हुँदै भारतको शहिदनगर लगेर बेचेको आरोप छ । मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा उनीहरुविरुद्ध १ फागुन २०७८ मा फैसला भएको थियो ।

तीन वटा फरक–फरक मुद्दामा बच्चुलाई ३० वर्ष कैद र ३ लाख जरिवाना र दावालाई ६० वर्ष कैद र ६ लाख रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

Loading...