काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर अमेरिकाबाट नेपाल फर्कन हवाईजहाजबाट प्रस्थान गरेका छन् ।
उनी आज अमेरिकाबाट स्वदेश फर्कन कतारको दोहातर्फ प्रस्थान गरेका हुन् । उनी दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् ।
यही असोज ४ गते अमेरिका गएका प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए । उनी पूर्वनिर्धारित भ्रमण तालिकाअनुसार नै आज स्वदेशका लागि उडेका हुन् ।
महासभालाई सम्बोधन गरेपछि अमेरिकी राष्ट्रपतिसहित विभिन्न देशका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग उनले भेटघाट गरेका थिए ।
यसबीच नेपालमा बाढीपहिरोले बितण्डा निकै मच्चाए पनि बेवास्ता गर्दै स्वदेश नफर्किएको भन्दै राजनीतिक वृत्तमा उनको निकै आलोचनासमेत भएको छ ।
