धनगढी : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश र्ईन्चार्ज लेखराज भट्टले विचार र सिद्धान्तमा पराजय भोगेकाहरुले एमाले छाडेको भनेर कुप्रचार गरिरहेको बताएका छन ।
सामाजिक सञ्जालमा भट्टसहितका नेता, कार्यकर्ताले पार्टी छाडेको भनेर अनावश्यक प्रचार गरिएको भन्दै भट्टले कुप्रचार गरेर आम नागरिकलाई भ्रममा पार्न खोजिको बताउँदै त्यसमा विश्वास नगर्न आग्रह गरेका छन् ।
\पूर्व सचिव भीम उपाध्यायले फेसबुकमा एमालेका सचिव भट्टसहितका ४६ जनाले एमाले छाडेको भन्दै स्टाटस लेखेपछि उनले कुप्रचार गर्नेहरुको विश्वासमा परेर भ्रममा नपर्न आग्रह गरेका हुन् ।
‘म तीन दिनदेखि हाम्रो पार्टीको केन्द्रीय कमिटि बैठकमा सहभागी थिए तर मंगलबार सामाजिक सञ्जालमा एकाएक मेरो बारेमा पार्टी छोड्यु भनेर कुप्रचार गरेको कुुरा अबेर साझ निवासमा पुगेपछि थाहा पाए, ’ भट्टले भने, ‘यो सबै कुरा भ्रम हो । राजनीतिक अन्तर विरोध हाल्दै राजनितीक चरित्र हत्या गर्न खोज्नेहरुले कुप्रचार गरेको देखियो । मुूलतः विचारमा पराजय भोगेपछि यी खालका हतकण्डा अपनाएको देखिन्छ । भ्रममा नपर्न सम्पूर्णलाई आग्रह गर्दछु ।’
उनले विचार र सिद्धान्तले नसक्नेहरुले आफ्नो चरित्रहत्या गरेर विवादित बनाउने कुचेष्टा गरिरहेको बताए । ‘विचार र सिद्धान्तले नसक्नेहरुले एमाले छोडे भनेर भ्रम फैलाईरहेका छन । म एमालेमै छु । आम जनता र कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्दछु’ सचिव भट्टले भने ।
पूर्व सचिव भीम उपाध्यायले फेसबुकमा स्टाटस लेख्दै एमाले सविच भट्टसहितका ४६ जनाले पार्टी परित्याग गरेको स्टाटस लेखेका थिए । उक्त स्टाटसपछि माओवादी कार्यकर्ताहरुले पनि सचिव भट्टले पार्टी छाडेको भन्दै पोस्टहरु हालेको देखिन्छ ।
माओवादीकी महिला नेता दुर्गा जोशी भट्टले पनि भट्टको जनयुद्धकालिन तस्बिर सहित ‘फाईनल्ली लेखराज भट्टले एमाले छाडेका छन’ भनेर स्टाटस लेखेकी थिइन्।
सोमबार मात्र एमाले सचिव भट्टको निर्वाचन क्षेत्रका कार्यकर्ताहरुले पार्टी छाडेको भन्दै एउटा विज्ञप्ती सार्वजनिक भएको थियो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएको उक्त विज्ञप्तीमा भट्टको निर्वाचन क्षेत्रमा पर्ने गोदावरी नगरपालिकाकी नगर कमिटि सदस्य कल्पना कुमारी बिक र उनका श्रीमान समेत रहेका पूर्व नगर कमिटि सचिवालय सदस्य रुपलाल बिकसहितका ४६ जनाको हस्ताक्षर थियो ।
सोही विषयलाई जोडेर सामाजिक सञ्जाल फेसबुकमा लेखराज भट्टसहितका पूर्व माओवादीले एमाले परित्याग गरेको भन्दै प्रचार गरिएको थियो । तर, मंगलबार पार्टी परित्या गरेको भनेर सार्वजनिक भएको विज्ञप्तिमा उल्लेख सेतु दमाईसहितका २८ जनाले विज्ञप्ति जारी गर्दै नगर कमिटि सदस्य बिक र उनका श्रीमा रुपलालले जारी गरेको विज्ञप्तीमा सत्यता नभएको बताएका छन् ।