अत्तरिया: कैलालीको गोदावरी-७ मा रहेको माईल स्टोन क्लबको आयोजनामा यहि जेठ १५ गतेदेखि “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारासहित वडाध्यक्ष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
माईल स्टोन क्लबको आयोजना तथा वडा नम्बर ७ को आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा वडाभित्रका खेलाडीहरूको टिम सहभागी गराइने आयोजकले जनाएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू बिहान र बेलुकीको समयमा खेलाइने खेल संयोजक प्रेम बोहराले जानकारी दिए ।
संयोजक बोहराले पछिल्लो समय भलिबल प्रतियोगिताहरू कम हुँदै गएको उल्लेख गर्दै खेलको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताए। प्रतियोगिताले स्थानीय खेलाडीलाई अवसर प्रदान गर्नुका साथै भलिबल खेलप्रति युवाको आकर्षण बढाउने विश्वास आयोजकले लिएको छ।