सुदूरपश्चिम प्रहरी प्रमुख भट्टराईद्वारा ईप्रका मालाखेतीको निरीक्षण

अत्तरिया : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण तथा अवलोकन गरेका छन् ।

मंगलबार कार्यालयको निरीक्षणका क्रममा उनले विभिन्न शाखा, हिरासत कक्ष तथा नागरिक सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका छन् । सो अवसरमा कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराले कार्यालयको कार्यसम्पादन, शान्ति सुरक्षा व्यवस्थापन लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

निरीक्षणपछि प्रहरी कर्मचारीलाई निर्देशन दिँदै डीआईजी भट्टराईले नागरिकमैत्री, प्रभावकारी र गुणस्तरीय प्रहरी सेवा प्रवाहमा जोड दिए । उनले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिए ।

त्यस्तै, सम्भावित आपराधिक गतिविधिको पूर्वसूचना सङ्कलन तथा विश्लेषण गर्ने, घटनास्थलमा तत्काल प्रहरी परिचालन गरी प्रभावकारी प्रतिकार्य गर्ने र चोरी, तस्करीलगायत आपराधिक गतिविधि नियन्त्रणका लागि नियमित गस्ती तथा पेट्रोलिङलाई प्रभावकारी बनाउन उनले निर्देशन दिएका छन् । डीआईजी भट्टराईले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन र प्रहरी आचरण तथा अनुशासन कायम राख्दै जिम्मेवारी निर्वाह गर्नसमेत प्रहरी कर्मचारीलाई आग्रह गरेका थिए ।

निरीक्षणका क्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दलगायत प्रहरी अधिकृत तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Loading...