सरकारले भूकम्प प्रभावितका लागि ३९ करोड बजेट विनियोजन गर्यो

अत्तरिया : सरकारले बझाङ र बाजुराका भूकम्पपीडितका लागि ३९ करोड रुपैया विनियोजन गरेको छ । भुकम्प प्रभावितहरुका लागि अस्थायी आवास निर्माण गर्न सरकारले उक्त रकम विनियोजन गरेको हो ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा बझाङ र बाजुरा सहित जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाका लागि पनि रकम निकासा गरिएको छ ।

सरकारले भुकम्प प्रभावितहरुका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता वाफत कुल १ अर्ब ४१ करोड रुपैया निकासा गरेको थियो । जसमध्ये बझाङमा २५ करोड विनियोजन गरिएको छ भने बाजुरामा १४ करोड विनियोजन गरिएको छ ।

सरकारले विनियोजन गरेको रकम मध्ये सबैभन्दा बढी जाजरकोट र रुकुम पश्चिमका लागि छुट्याईएको छ । उनिहरु दुवै जिल्लामा सरकारले ५०–५० करोड रुपैया विनियोजन गरेको छ ।

सरकारले सल्यानका भुकम्प प्रभावितहरुका लागि भने दुई करोड रकम विनियोजन गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको गत कात्तिक २६ को निर्णयबाट भूकम्पप्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण कार्यविधि २०८० स्वीकृत भएको थियो ।

उक्त कार्यविधिले निर्दिष्ट गरेको भूकम्पप्रभावित लाभग्राहीको अस्थायी आवास निर्माणको पहिलो किस्ता दिने प्रयोजनका लागि उक्त रकम निकासा गरिएको हो । यो रकम स्थानीय तहमार्फत लाभग्राही पहिचान गरी सम्बन्धित पालिकामार्फत जाने बताईएको छ ।

Loading...