ठेकेदारका कारण बाजुरामा भत्किएको सडक अझै मर्मत भएन

बाजुरा : बाजुरामा पुल निर्माण गर्ने क्रममा भत्किएको सडक अझै मर्मत हुन सकेको छैन ।

ठेकेदार कम्पनीले बाटो नबनाउँदा बाजुराको कोल्टी–मार्तडी सडक खण्डमा भत्किएको थियो । १६ दिनदेखि अघि भत्किएर उक्त सडक बन्द हुँदा पनि मर्मत गरिएको छैन ।

सडक बन्द हुँदा बाजुरा पूर्वाेत्तर क्षेत्र, हुम्ला र मुगुका नागरिक समस्यामा परेका छन् । सदरमुकाम मार्तडी पुग्ने मुख्य सडक बन्द हुँदा बिरामी र सेवाग्राही हैरान भएका छन् ।

यो सडक खण्डको अनाई खोलामा पक्की पुलको जगका लागि निर्माण कम्पनी आईएस पावर अफ् जोइन्ट भेन्चरले खाल्डो खनेको थियो । जग खनिसकेपछि सडक भत्किँदा बाटो बन्द भएको हो ।

पुलको जग खन्दा भत्किएको सडक बनाउन कतैबाट पहल भएको छैन । पूर्वाधार विकास कार्यालय साँफेबगरका प्रमुख रुद्र बोगटीले वैकल्पिक सडक खन्नलाई स्थानीयवासीले जग्गा नदिएको बताए ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल पनि स्थानीयवासीले वैकल्पिक सडक खोल्न जग्गाको क्षतिपूर्ति मागिरहेका र क्षतिपूर्ति व्यवस्था नहुँदा समस्या भइरहेको बताए ।

Loading...