एमाले कैलाली जिल्ला अधिवेशन : मतदान सम्पन्न, आज रातिदेखि नै मतगणना हुने

सुखड : नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि शुक्रबार बिहानदेखि भएको मतदान सम्पन्न भएको छ ।

अधिवेशन उद्घाटन भएको छैटौँ दिन सुखडको घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा बिहान साढे ८ बजदेखि मतदान सुरु भएको थियो ।

बिहान ८ बजेदेखि सुरु गर्ने भनिएको मतदान केही ढिलो गरि सुरु भएको हो । सुरुमा दिउँसो १ बजेसम्म मतदानको समय तोकिएको थियो तर निर्वाचन कमिटिले समय बढाएर साँझ ६ बजेसम्म तोकेको थियो ।

तोकिएको समयभित्र मतदानस्थलमा प्रवेश गरिसकेकाहरुलाई मतदानमा सहभागी गराइएको निर्वाचन कमिटिले जनाएको छ । जिल्ला अधिवेशनमा आयोजक कमिटिसहित पाँच सय ९१ जना प्रतिनिधि सहभागी थिए । उनीहरू मध्ये पाँच सय ७८ जनाले मतदान गरेका छन् ।

यस्तै निर्वाचन कमिटीले आज (शुक्रबार) रातिदेखि नै मतगणना गरिने जनाएको छ । एमालेको नेतृत्वका लागि अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले प्यानलसहित उम्मेदवारी दिएका थिए ।

फागुन ६ गते अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशन गरेका थिए । ओलीले नेताहरुलाई सहमतीमै नेतृत्व चयन गर्न नभए भोलिपल्ट निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिएका थिए तर नेताहरुले सहमतीको प्रयासमै तीन दिन बिताएका थिए भने तीन दिनदेखि पटक पटक निर्वाचन प्रक्रिया स्थगित गरिदै आएको थियो ।

Loading...