बाढी, पहिरोबाट ११३ जनाको मृत्यु, ११९ जना घाइते

३ हजार ६३० घरपरिवार विस्थापित

काठमाडौँ : अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदबाट सोमवार दिउँसोसम्म ११३ जनाको मृत्यु भएको छ भने ११९ जना घाइते भएका छन् । यस अवधिमा विपदका घटनाबाट ३ हजार ६३० घर परिवार विस्थापित भएका छन् ।

नेपाल प्रहरीका अनुसार बाढी, पहिरोलगायत विपदमा काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा ११३ जनाको मृत्यु भएको हो ।

काठमाडौँ उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्‍चिम प्रदेशमा ११ जना गरी जम्मा ११९ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ।

बाढी पहिरोमा कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना र गण्डकी प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ७ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी छ ।

बाढीका कारण देशभरि १८२ घर डुबानमा परेका छन्। २०५ वटा घर, ७८ वटा गोठ, ४३ वटा पुल, एउटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।
५३९ वटा पशु चौपायाको मृत्यु भएको छ ।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्नमा समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत प्रहरीले हटाइरहेको छ।

Nabadurga Sunchadi
Loading...