स्थानीय तह उपनिर्वाचनकाे कार्यतालिका सार्वजनिक, असोज १० देखि दल दर्ता

काठमाडौं : निर्वाचन आयोगले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय दिइएको छ ।

त्यस्तै २० असोजमा दल दर्ता स्वीकृत गर्ने, कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने, ३० कात्तिकमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र २ मंसिरदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगको कार्यतालिका छ । त्यसपछि १६ मंसिरमा निर्वाचन हुनेछ ।

आयोगका अनुसार २०८१ मंसिर १५ गतेसम्म १८ वर्ष पूरा हुनेले स्थानीय तह उपनिर्वाचनमा मतदान गर्न सक्नेछन् । ‘मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा २०८१/०५/३१ सम्म देशभरबाट सङ्कलित तथा २०८१/०८/१५ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरणलाई अद्यावधिक प्रकृयामा लगिने छ’, प्रवक्ता सापकोटाले विज्ञप्तिमा भनेका छन् ।

आयोगले मतदाता नामावलीको अन्तिम विवरण असोज १८ गते प्रकाशन गर्नेछ । असोज १८ देखि ३० गतेसम्म त्रुटि सच्याउन निवेदन दिने र झुटा विवरण पेश गरी नाम लेखाएको भए उजुरी दिन सकिने आयोगले जनाएको छ ।

मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली कात्तिक २६ गते प्रकाशित हुनेछ ।

मङ्सिर १६ गते बिहान ७ बजेदेखि मतदान हुनेछ । निर्वाचन आयोगका अनुसार जिल्ला समन्वय समिति प्रमुख दुई, मेयर र उपमेयर एक/एक, अध्यक्ष दुई, उपाध्यक्ष तीन र वडाध्यक्षमा ३० वटा पद खाली छन् ।

Deep Jyoti Pustak psl
Loading...