देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व

काठमाडौं : देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ राजस्व संकलन गरेका छन् । घर जग्गाको कारोबारमा अपेक्षितरूपमा सुधार आउन नसकेको कारोबार तथा राजस्व संकलनको प्रवृत्तिले देखाएको छ ।

असोज महिनाको तुलनामा कात्तिकमा राजस्व संकलनमा गिरावट आएको हो । असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ हजार ४८१ बराबरको राजस्व संकलन भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व संकलनमा कमी आएको हो ।

विभागका अनुसार, काठमाडौं उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार ८५८ राजस्व उठाएको छ ।

मुलुकभर १३३ मालपोत कार्यालय छन् । ती कार्यालयले १७ करोड ७८ लाख ३८ हजार ४६६ बराबरको सेवा कर उठाएको छ । यस्तै, रजिष्ट्रेशन शुल्क रु एक अर्ब ८२ करोड ९५ लाख ३० हजार १३१, पूँजीगत लाभकर ९३ करोड ७७ लाख ९१ हजार ८२० सङ्कलन गरेको छ ।

विभागका अनुसार गत साउनमा तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार ८८५, भदौमा तीन अर्ब नौ करोड दुई लाख ५९ हजार १५२ बराबरको राजस्व संकलन भएको थियो । रासस

Nabadurga Sunchadi
Loading...