काठमाण्डाै : सरकारले पाँचौ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आउँदो फागुन १६ र १७ गते काठमाण्डौमा गर्ने भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरेर वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौतीहरूको विश्लेषण गरी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने सम्मेलनको मुख्य उद्देश्य रहेको जानकारी गराएको छ ।
अहिले नेपालको श्रम रोजगार क्षेत्रमा सङ्कुचन आएकोले यसको समाधानका लागि सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले बताए । उनले उत्पादन तथा उत्पादकत्वको क्षेत्रमा लगानी कम हुँदा देशको अर्थतन्त्र भन्सारमा आधारित बनेको बताए ।
सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता तथा विज्ञ गरी पाँच सय जनाको सहभागिता रहने सरकारले जनाएको छ ।
