ललितपुर : समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ ।
केही दिन अघि राजावादीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौँमा बृहत प्रदर्शन गरेकाले त्यसलाई धक्का दिन मोर्चाले उक्त प्रदर्शन गर्न लागेको हो ।
आज ललितपुरमा पत्रकार सम्मेलन गरी मोर्चाले पछिल्लो समय देखिएको अन्योलता र नेपाली जनताका अधिकार कुण्ठित हुने अवस्थाविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले जनप्रदर्शन गर्ने निर्णय भएको मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जानकारी दिए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मनोमानी, देश एवं जनताको हित विपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरुत्थानवादी तत्त्वहरू लागिपरेको जिकिर गरे ।
