दलित परिवारको घर भत्काउने गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप

जनकपुरधाम: महायज्ञको नाममा दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्ववडाध्यक्ष दिलीप यादवलाइ पाँच दिन थुनामा राख्न म्याद थप भएको छ ।
जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि आइतबार सिरहा जिल्ला अदालतले पाँच दिन म्याद दिएको हो । चैत १७ गतेदेखि आयोजना हुने भनिएको महायज्ञका नाममा गएको फागुन १० गते अछुत भन्दै महायज्ञस्थलमा रहेको स्थानीय दीपक मल्लिकको घर भत्काइएको थियो ।

Dhangadhi_Tihar 2083

गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो । घर भत्काएपछि घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि जातीय विभेद गरेको भन्दै विरोध भइरहेको छ । घटनामा संवेदनशील नभएको भन्दै गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई शुक्रवार नै मन्त्रालय तानिसकेको छ ।

यसैगरी राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले घटनाको अनुसन्धान अगाडि बढाएका छन् । घटनामा सङ्लग्न बजरङ्गी बाबा भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Loading...