अत्तरिया : कैलालीको अत्तरियामा आयोजना हुने पिएफए भेट्रान्स कपको ट्रफि सार्वजनिक गरिएको छ । अत्तरियामा रहेको पिएफए स्पोट्र्स क्लबको आयोजनामा यही जेठ २५ गतेदेखि आयोजना हुने भेट्रान्स कपको छैठौ संस्करणको ट्रफि सार्वजनिक गरिएको हो ।
आज (शनिवार) पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबले विजेता टोलीले पाउने ट्रफि सार्वजनिक गरेको छ । भोलीबाट सुरुहुने पिएफए भेट्रान्स कपको दिउँसो २ बजे गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको पिएफए स्पोट्रस क्लबका महासचिव सिद्ध बोहराले बताए । उनले खेलहरू गोदावरी नगरपालिका-२ मा रहेको एपीएफ खेलमैदान,बनखेतमा हुने जनाएका छन् ।
टी-२० फर्मयाटमा खेलाइने प्रतियोगितामा प्रथम हुनेले एक लाख पुरस्कार प्रदान गर्ने छन् भने उपविजेता टिमले नगद ५० हजार प्रदान गर्ने छन्। असार ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा टिम सहभागी हुने आयोजकले बताएको छ ।
प्रतियोगितामा ३२ वर्ष भन्दा बढी उमेर समूहका व्यक्तिहरू मात्रै सहभागी हुन पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार का साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिनेछ ।
यस्तै वेस्ट ब्याट्सम्यान र वेस्ट बलरलाई समान नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजक ले जनाएको छ । प्रतियोगिता को प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने बताइएको छ । यसअघि अक्सन मार्फत खेलाडीहरू खरिद गरिएको भेट्रान्स प्रतियोगितामा यो वर्ष भने टिम नै सहभागी बनेका छन् ।
प्रतियोगिताको मुख्य प्रवर्द्धक गोदावरी नगरपालिका रहेको छ भने मुख्य प्रायोजकको रूपमा करियर स्टेशन कन्सल्टेन्सी नयाँ बानेश्वर रहेको छ। सह-प्रायोजकमा एभरेष्ट एकेडेमी अत्तरिया रहेको छ । त्यस्तै, अन्य प्रायोजक संस्थाहरूमा माया मेट्रो हस्पिटल प्रा.लि., बिग बुल फिट्नेस, मालिकार्जुन हार्डवेयर प्रा.लि. लक्ष्मी कत्था उद्योग, नेपाल लाइफ इन्स्योरेन्स, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, पद्मा हस्पिटल, जय भवानी कन्स्ट्रक्सन प्रा.लि., आराम फिजियोथेरापी रहेका छन् ।
प्रतियोगिता अवधिभर सिवाईसी अत्तरिया स्कूल अफ क्रिकेटले विशेष सहयोग गर्ने आयोजकले बताएको छ ।