अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका ५८ किसान तथा किसान समूहलाई मिनिटेलर वितरण गरिएको छ ।
बिहीबार गोदावरी नगरपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरेर ५८ किसान तथा किसान समूहलाई मिनिटेलर वितरण गरेको हो । किसानहरूलाई ५० प्रतिशत अनुदानका मिनिटेलर वितरण गरिएको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले बताए ।
उनले मिनिटेलर पाएका किसानहरूलाई त्यसको सही सदुपयोग गर्न आग्रह गरे । ‘यसअघि वितरण गरेका मिनिटेलर विक्री गरेको पनि पाइयो’ उनले भने ‘तपाइहरूको आर्थिक पाटो बलियो होस भनेर हामीले यो कार्यक्रम ल्याएका हौ ।
यसलाई सही सदुपयोग गर्नुहोला ।’ उनले मिनिटेलरको सही सदुपयोग भए नभएको नगरपालिकाको टोलीद्वारा अनुगमन गरिने बताए । उनले अनुदानमा मिनिटेलर लिनका लागि ११५ किसानले आवेदन दिए पनि विधि प्रक्रिया पुगाएर ५८ किसानलाई छनोट गरिएको बताए ।
उपप्रमुख शारदा देवी रोकायाले मिनिटेलर लिएका किसानले ५ वर्ष सम्म विक्री वितरण गर्न नपाइने बताइन् । उनले किसानको सहजताका लागि मिनिटेलर वितरण गरिएकाले यसको सदुपयोग गरिए नगरिएको अनुगमन गरिने बताइन् । नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले अघिल्लो आर्थिक वर्षको कार्यक्रम भए पनि प्रक्रिया पुगाउन ढिलाइ हुँदा चालु आर्थिक वर्षमा वितरण गरिएको बताए ।
उनले मिनिटेलर पाएर किसानले अरूको बारीमा खनजोत गरेर अतिरिक्त आम्दानी पनि गर्न सक्ने बताए । कृषि शाखा प्रमुख नन्दी मल्लले किसानहरूलाई ७ हर्ष पावरको मिनिटेलर वितरण गरिएको बताइन् ।
जसमध्ये किसानले ५० प्रतिशत अर्थात् २३ हजार ७५ रुपैयाँ तिरेको बताइन् । मिनिटेलर वितरणका लागि नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा २३ लाख विनियोजन गरेको थियो ।