बसमा आगो लाग्दा ७६ जनाको मृत्यु

एजेन्सी : अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा भएको सडक दुर्घटनामा ७६ जनाको मृत्यु भएको छ । मृतकमध्ये १७ जना बालबालिका छन्। तीन जनाको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा अधिकांश मानिसहरू इरानबाट फर्काइएका अफगान शरणार्थी रहेको तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुत्तकीले जनाएका छन् । उनका अनुसार काबुल जाँदै गरेको बस मोटरसाइकल र मालबाहक ट्रकसँग ठोक्किएर आगो लागेको थियो।

बसमा सवार सबै यात्रु र बससँग ठोक्किएका दुईवटा सवारीसाधनमा रहेका दुई जनाको पनि मृत्यु भएको छ ।

इरानले आफ्नै देशमा द्वन्द्वका कारण भागेका अफगानी शरणार्थीलाई देशबाहिर पठाउने प्रक्रिया तीव्र पारेको छ । सन् १९७० देखि लाखौं अफगानी इरान र पाकिस्तानमा शरण लिएर बसेका छन् ।

यसमा सन् १९७९ मा अफगानिस्तानमा सोभियत आक्रमणका क्रममा र २०२१ मा तालिबान सत्ता फर्किएपछि ठूलो संख्यामा मानिसहरू समावेश छन् ।

Loading...