अत्तरिया : सुदूरपश्चिमका पहाडी सात जिल्लामा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा बढिरहेको छ।
स्वास्थ्य निर्देशनालय, राजपुर डोटीका अनुसार, डडेलधुरा र अछाममा सबैभन्दा बढी बिरामी भेटिएका छन्। डडेलधुरामा गत आर्थिक वर्षमा १,३३९ र अछाममा १,०८९ जनामा संक्रमण देखिएको छ।
अन्य पहाडी जिल्लाहरू—बैतडी, दार्चुला, बझाङ, डोटी र बाजुरामा पनि बिरामी भेटिएका छन्। तराईका कैलाली र कञ्चनपुरमा भने संक्रमण घट्दो क्रममा छ। गत वर्ष यी जिल्लामा ८८८ जना मात्र बिरामी देखिएका थिए। स्क्रब टाइफस मुसामा लाग्ने स–साना ‘माइट’को टोकाइबाट फैलिन्छ।
संक्रमण भएमा शरीरमा बिमिरा, ज्वरो र शरीर दुख्ने लक्षण देखा पर्छ। डडेलधुरा अस्पतालका डा. सुशील विकका अनुसार, समयमै उपचार नपाए रोगले मिर्गौला, मस्तिष्क, फोक्सो र कलेजोमा असर गरी ज्यान लिन सक्ने सम्भावना हुन्छ।
स्वास्थ्यकर्मीहरूले झाडी, खेतबारी वा वनजंगलमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउन, घर वरिपरि सफाइ राख्न र मुसा–किर्ना नियन्त्रण गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। नियमित सरसफाइ र सचेतनाले स्क्रब टाइफसबाट बच्न सकिन्छ।
