आज ज्येष्ठ नागरिक दिवस

काठमाडौँ : ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ ।

ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।

२०५१ साल पुस ११ गते ज्येष्ठ सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ । यो दिवसले ज्येष्ठ नागरिकप्रतिको हाम्रो सामूहिक दायित्व, जिम्मेवारी, कर्तव्य, सम्मान र आदरभावलाई पुनः स्मरण गराउँछ । जीवनको लामो यात्रामा उहाँहरूले गरेका त्याग, सेवा र योगदान हाम्रो समाजको अमूल्य सम्पत्ति हो ।

नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ । स्वास्थ्य सेवा, सम्मानजनक जीवन र सहयोग प्राप्त गर्ने अधिकार संविधानले प्रत्याभूत गरेको छ, जसले उनीहरूको गरिमामय जीवनलाई बलियो आधार प्रदान गर्दछ ।

नेपालमा २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई एक सय वृद्धभत्ता दिने घोषणा गरेको थियो । । हाल ज्येष्ठ नागरिकले मासिक चार हजार रुपैयाँ वृद्धभत्ता पाउने गरेका छन् । करिब १७ लाख ज्येष्ठ नागरिकले वृद्धभत्ता लिँदै आएका छन् ।

नेपालमा ज्येष्ठ नागरिकको संख्या २०३८ सालमा ८ लाख ५६ हजार ६१ जना थियो । २०४८ सालमा आइपुग्दा १० लाख ७३ हजार ४ सय ८७ पुग्यो । २०५८ सालमा १४ लाख ७० हजार ३ सय ७९ जना र २०६८ सालमा २४ लाख ६९ हजार पुग्यो । जनगणना २०६८ अनुसार ६० वर्ष र सोभन्दा माथिको संख्या २१ लाख ५४ हजार ४ सय १० छ भने १०० वर्ष र सो माथिकाको संख्या ३ हजार ५ सय ६६ रहेको छ ।

२०७८ मा देशको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुग्यो । कुल जनसंख्यामा १०।२ प्रतिशत अर्थात् २९ लाख ७७ हजार ३ सय १८ ज्येष्ठ नागरिक छन् । महिला ज्येष्ठ नागरिक १५ लाख ४३ हजार ९ सय ७ जना छन् ।

Loading...