कैलाली-४ का कांग्रेस उम्मेदवार निर्वाचन क्षेत्रमा पुगे, नेता कार्यकर्ताद्धारा भव्य स्वागत

अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर विष्ट (आनन्द) आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । मंगलबार वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका विष्ट बुधवार काठमाण्डौंबाट हवाई मार्ग हुँदै निर्वाचन क्षेत्रमा पुगेका हुन ।

उनको धनगढी विमानस्थलमा कांग्रेसका नेता कार्यकर्ता, सुवेक्षुकले भव्य स्वागत गरेका थिए । कांग्रेस क्षेत्रीय सभापति वसन्त रोकाया, गोदावरीका मेयर वीरेन्द्र भट्ट लगायतले विमानस्थलमा उनको स्वागत गरेका थिए ।

विमानस्थलमा पत्रकारहरू सँग संक्षिप्त कुराकानी गर्दै उनले आफू कैलाली क्षेत्र नम्बर ४ को विकासका लागि पवित्र भावनाका साथ निर्वाचन लड्न आएको बताए । उनले कांग्रेसमा ३६ वर्ष देखि आबद्ध रहेको बताउँदै आफ्नो जन्म क्षेत्रका लागि काम गर्न आएको बताए । उनले यस क्षेत्रको विकासका लागि आफू सँग भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको अनुभव यस क्षेत्रको लागु गर्ने बताए । उनले देशमा जेनजी आन्दोलनको भावना समेटेर आफू अगाडि बढ्ने बताए।

उनले पार्टी भित्र अहिले कुनै पनि मनमुटाब नभएको बताउँदै यसअघि देखिएको समस्या समाधान भइसकेको बताएका छन् । आफ्नो क्षेत्रमा व्यक्तिगत मात्रै नभएर पार्टीको प्रतिस्पर्धा भएको उनले बताए । उनले आफ्ना प्रतिस्पर्धी लेखराज भट्टलाई फोन गरेर स्वच्छ प्रतिस्पर्धा गरेर चुनाव लड्न आग्रह गरेको बताउँदै गाली गलौज गर्ने परम्परागत शैली फेर्ने बताए ।

विमानस्थलबाट -याली सहित निर्वाचन क्षेत्रमा पुगेका उनले सुरुमा गोदावरी तीर्थ धामको दर्शन गरेका थिए । गोदावरीमा चलिरहेको बाह्र राशि कुम्भ मेलाको कुम्भ बाटिका र शिवालयमा पूजाआजा गरेका उनले धामका महन्त तुल्छी गिरीबाट समेत आशिर्वाद लिएका छन् ।

Loading...