कञ्चनपुरमा फरार रहेका चार जना प्रतिवादी पक्राउ

कञ्चनपुर : जिल्ला अदालत कञ्चनपुरबाट विभिन्न मितिमा कैद तथा जरिवाना सजाय ठहर भई फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

Dhangadhi_Tihar 2083

फैसला कार्यान्वयन अभियानअन्तर्गत हिजो जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा लागूऔषध मुद्दामा ६ महिना कैद सजाय र रु. ५ हजार जरिवाना तोकिएका भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने ५० वर्षीय खडक बहादुर पुजारा रहेका छन्।

त्यस्तै, लागूऔषध (चरेश) मुद्दामा १ वर्ष कैद सजाय र रु. २० हजार जरिवाना तोकिएका भीमदत्त नगरपालिका–६ बस्ने ५८ वर्षीय शिवराज भट्ट पनि पक्राउ परेका छन्। यसैगरी, अभद्र व्यवहार मुद्दामा १ महिना कैद सजाय र रु. १ हजार जरिवाना तोकिएका बेदकोट नगरपालिका–९ बस्ने १८ वर्षीय किशोरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

कुटपिट मुद्दामा १ वर्ष कैद सजाय र रु. १ हजार जरिवाना तोकिएका भीमदत्त नगरपालिका–२ बस्ने ४६ वर्षीय शिव दत्त जोशीसमेत पक्राउ परेका छन्। पक्राउ परेका चारै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार पठाइने प्रहरीले जनाएको छ।

Loading...