कैलाली-४ मा एमालेका उम्मेदवार भट्ट विकासको एजेण्डा सहित घरदैलोमा, मतदाताको उत्साहपूर्ण साथ

अत्तरिया : कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) का उम्मेदवार लेखराज भट्ट यतिबेला चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलोमा मत माग्न व्यस्त रहेका छन् । विकास,समृद्धि र स्थायित्वको स्पष्ट एजेण्डा लिएर घरदैलो कार्यक्रममा निस्किएका भट्टले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना र प्रतिबद्धताहरू सार्वजनिक गरिरहेका छन् ।

एमालेका उपमहासचिव समेत रहेका भट्टले यस क्षेत्रलाई शिक्षा, स्वास्थ्य, सडक तथा पूर्वाधार विकासको नमुना क्षेत्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताएका छन् । उनले विगतमा गरेका कामहरूको निरन्तरता र बाँकी योजनाहरू पूरा गर्न आफूलाई पुनः अवसर दिन यस क्षेत्रका मतदाताहरुसँग आग्रह गरेका छन् । शनिबार उनले गोदावरी नगरपालिकाको वडा नम्बर ३ र १० का विभिन्न बस्तीहरुमा पुगेर मतदातासँग भेटघाट गरेका छन् ।

घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले फूलमाला लगाएर स्वागत गर्नुका साथै विकासको निरन्तरताका लागि साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। विशेषगरी युवा र महिलाहरूको उल्लेख्य सहभागिता देखिएको पार्टि वडा संयोजकहरुले बताएका छन् ।

यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना उनको पहलमा सम्भव भएको भन्दै समर्थकहरूले उनको नेतृत्वको प्रशंसा गरेका छन् । उक्त प्रतिष्ठान सञ्चालनमा आएपछि सुदूरपश्चिमका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज भएको स्थानीयहरूको भनाइ छ ।

त्यसैगरी शिक्षा क्षेत्रको स्तरोन्नति, विद्यालय भवन निर्माण, क्याम्पस विकास, सडक कालोपत्रे तथा स्तरोन्नति, ग्रामीण सडक विस्तार, पुल निर्माण, खानेपानी आयोजना सञ्चालन, विद्युत् विस्तार तथा यातायात सेवाको पहुँच बढाउने कार्यमा समेत भट्टले महत्वपूर्ण भूमिका खेलेको दाबी गरिएको छ । उनले आगामी कार्यकालमा रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।

चुनावी मैदानमा प्रतिस्पर्धा बढ्दै गइरहेका बेला भट्टको सक्रियता र जनसम्पर्क अभियानले कैलाली क्षेत्र नम्बर ४ मा एमालेको पकड मजबुत देखिएको विश्लेषण गरिएको छ । मतदातासँगको प्रत्यक्ष संवादमार्फत स्थानीय समस्या पहिचान गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै भट्ट निरन्तर अभियानमा जुटिरहेका छन् ।

Loading...