धनगढी : एक महिनादेखि सञ्चालनमा रहेको प्रदेशस्तरीय सिप तथा रोजगार मेला धनगढीमा सम्पन्न भएको छ। माघ ५ गतेदेखि सुरु भएको मेला फागुन १३ गते समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी रानाले मेलाले बेरोजगार युवायुवतीलाई स्वरोजगारतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
उनले तालिमलाई उद्यमशीलतासँग जोडेर आत्मनिर्भर बन्न सकिने उल्लेख गर्दै सीपमूलक कार्यक्रमले युवाको भविष्य निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
उपप्रमुख रानाका अनुसार यस वर्ष सुदूरपश्चिमका ८८ मध्ये ८४ पालिकाका करिब ६ सय युवायुवतीले सात विधाअन्तर्गत २२ प्रकारका तालिम लिएका छन्। कार्यक्रममा दुई तिहाइ सहभागिता महिलाको रहेको उनले जानकारी दिइन्। गत वर्ष भने १ हजार ४० जनालाई आठ विधामा २९ प्रकारका तालिम प्रदान गरिएको थियो ।
‘सिप तथा रोजगार मेला उपमहानगरपालिकाको गौरवको योजना हो,’ उनले भनिन्, ‘युवालाई स्वदेशमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्न यो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।’ नगर प्रमुख गोपाल हमालको नेतृत्वमा प्रतिबद्ध कार्यक्रमहरू कार्यान्वयन भइरहेको समेत उनले उल्लेख गरिन् ।
तालिमसँगै रोजगारीको अवसर
मेलाकै क्रममा विभिन्न क्षेत्रका रोजगारदाताबाट १४५ जना कामदारको माग आएको छ। रोजगार संयोजक चन्द्र महराका अनुसार ३० दिने तालिमपछि आयोजित रोजगार मेलामा १३६ जनाले अन्तर्वार्ता दिएका छन् भने २१ जना छनोट भइसकेका छन् । ६ सय प्रशिक्षार्थीमध्ये २१६ जनालाई पाँच दिने उद्यमशीलता विकास तालिम र २२३ जनालाई रोजगार परामर्श कार्यशाला सञ्चालन गरिएको थियो । प्लम्बिङ, वेल्डिङ, इलेक्ट्रिसियन र फर्निचर सम्बन्धी तालिम भने धनगढी भोकेसनल स्कुलमा सञ्चालन हुने जनाइएको छ । उपमहानगरपालिकाका अनुसार मेला युवाको क्षमता विकास, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनमा प्रभावकारी बनेको छ ।