कांग्रेस सभापतिमा ३ सहित पदाधिकारीमा ३० जनाको उम्मेदवारी

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदमा तीन जनासहित विभिन्न पदाधिकारी ३० जनाको उम्मेदवारी दर्ता भएको छ । सभापति पदमा गगन थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन् । गगन थापाले मंगलबार साँझ उम्मेदवारी दर्ता गरेका हुन् ।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ। उनी निर्विरोध निर्वाचित भएका छन् । महिला उपसभापतिमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेको छ । उनी पनि महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएकी छन् । खुला उपसभापतिमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन् ।

समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरूङ र रन्जित कर्णले उम्मेदवारी दर्ता गराएका छन् । खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरूराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्यायको उम्मेदवारी परेको छ । महिला महामन्त्रीमा डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनालले उम्मेदवारी दिएका छन् ।

यस अनुसार सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक-एक जना, खुला उपसभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँच जना, खुला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको छ ।

कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको हो । राष्ट्रिय सभागृहमा भएको उम्मेदवारी दर्ताका लागि निर्वाचन समितिले आवश्यक फारम, प्रस्तावक-समर्थक, शुल्क बुझाएको भौचर, महाधिवेशन प्रतिनिधिको प्रमाणपत्र लगायत कागजात अनिवार्य गरेको छ ।

महाधिवेशनबाट कांग्रेसले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्दैछ । यस पटक विधान संशोधनपछि कांग्रेसको केन्द्रीय कार्यसमिति २५ पदाधिकारीसहित २९७ सदस्यीय हुने भएको छ ।

Loading...