अत्तरिया : केही दिनदेखि मौसमले साथ नदिँदा धानबाली भित्र्याउन समस्या झेल्दै आएका किसानलाई घाम लागेपछि पाकेको धान भित्र्याउने चटारो परेको छ ।
लगातारको बदली र वर्षाको त्रासले पाकेको धान खेतमै राख्न बाध्य कैलालीका किसान आज चर्को घाम लागेपछि धान काट्न व्यस्त भएका छन् । मौसममा सुधार आएसँगै किसानहरू बिहानैदेखि खेतमा पुगेर धान काट्ने, सुकाउने र भित्र्याउने काममा जुटेका छन् ।
धानबाली भित्र्याउने मुख्य समयमा मौसमले साथ नदिँदा किसानहरू चिन्तित बनेका थिए । काटिसकेको धान भिज्ने तथा खेतमै रहेको धानमा क्षति पुग्ने चिन्ताले किसानलाई सताएको थियो। घाम लागेपछि भने किसानलाई केही राहत मिलेको छ ।
खेतभरि पाकेर पहेँलपुर बनेको धान भित्र्याउन किसानहरू अहिले मौसमको अनुकूलतालाई सदुपयोग गरिरहेका छन् । वर्षभरि गरेको मेहनत र लगानी सुरक्षित गर्न उनीहरू धान काट्ने र बाली भित्र्याउने काममा व्यस्त देखिएका छन् ।
किसानका लागि धान भित्र्याउने यो समय निकै महत्त्वपूर्ण हुने भएकाले मौसमले थप साथ दिने आशामा उनीहरू घाम लागेका बेला सकेसम्म बढी धान भित्र्याउने प्रयासमा जुटेका छन् ।