धनगढी : कैलालीमा ठगी सम्वन्धिका उजुरीको संख्या वर्षेनि बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा ठगी सम्वन्धिका उजुरीको संख्या वर्षेनि बढ्दै गएको पाइएको हो।
आर्थिक वर्ष २०७७/७८ मा ठगी सम्वन्धिका ८ उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएकामा आर्थिक वर्ष २०७८/७९ मा यस्तो संख्या ९ पुगेको हो। ठगीसम्बन्धी कानुनमा बिगो बमोजिमको धरौती र पाँचवर्षसम्म कैद हुने प्रावधान रहेको छ।
जिल्लाभित्र विभिन्न बहाना बनाई ठगी गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। डर देखाई ठगी गर्ने, बैंकिङ कसुर गर्ने, विदेश पठाइदिने भनी ठगी, सहकारीमार्फत ठगी गर्ने, जग्गा देखाई ठगी, कालोबजारी गर्ने, सरकारी कीर्ते छाप दस्तखत गर्ने लगायत विभिन्न ठगीका घटना बढ्न थालेको छ।
गत आर्थिक वर्ष २०७९/८० मा मात्र जिल्ला प्रहरी कार्यालय कैलालीमा सबैभन्दा बढी २५ ठगी सम्वन्धिका उजुरी दर्ता भएको अभिलेख छ। दर्ता भएका उजुरीमध्ये २१ वटा उजुरीको अन्तिम टुंगो लागिसकेको छ भने चारवटा उजुरीको टुंगो लाग्न बाँकी छ।
गत वर्ष कैलालीमा सहकारी छाप दस्तखत किर्ते ९ तथा बैंकिङ कसुर सम्वन्धिका एक सय तीन उजुरी दर्ता भएको प्रहरी कार्यालयको तथ्यांक छ। यसरी विभिन्न आश्वासन र प्रलोभन देखाएर ठगी गर्ने समुह जिल्लाभित्र अहिले पनि सक्रिय देखिएको छ।
विशेष गरी ग्रामीण क्षेत्रका नागरिकलाई विभिन्न आर्थिक लाभ देखाएर ठगी गर्ने समुह ठुलै संख्यामा भए पनि अधिकांशलाई कानुनीमा दायरामा ल्याउन नसकिएको स्थानीयको गुनासो छ।