गोदावरीमा भागेर विवाह गर्नेको संख्या बढ्न थाल्यो

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरिया क्षेत्रभित्र भागेर विवाह गर्नेको संख्या बढ्न थालेको छ। उमेर नपुग्दै भागेर विवाह गर्नेको संख्या दैनिक रुपमा बढ्न थालेको हो।

यस्तो कार्यबाट परिवारका सदस्य चिन्तित बन्न थालेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालका अनुसार गोदावरी नगरभित्र बालविवाह भयावह रुपमा बढ्न थालेको हो।

कलिलै उमेरमा पढाई समेत बिचमै छोडेर भागेर विवाह गर्ने किशोर\किशोरीको संख्या बढ्दै गएको छ। आफुखुसी विवाह गर्नेका कारण खोजीकार्य गर्न प्रहरीलाई समेत चुनौति बन्ने गरेको छ।

सानैमा विवाह गरेर लामो समयसम्म परिवारका सदस्यबाट सम्पर्कविहिन बन्ने अवस्थाका कारण पनि खोजीकार्यका लागि आफन्तबाट प्रहरीमा निवेदन पर्ने गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ। गत आर्थिक वर्ष २०७९\८० मा मात्र इलाका प्रहरी कार्यालय मालाखेतीमा किशोररकिशोरी हराएको भन्दै खोजीकार्यका लागि आफन्तबाट ३२ निवेदन दर्ता भएको प्रहरी अभिलेख छ।

यस्ता घटना चालु आर्थिक वर्ष सुरु भएयता पनि निरन्तर रुपमा बढेको छ। चालु आर्थिक वर्षको चार महिनामा यस्ता १५ निवेदन इलाका प्रहरी कार्यालय मालाखेतीमा दर्ता भएका छन्।

प्रहरीले खोजीकार्य गर्दा फेला परेकामध्ये अधिकांशले भागेर विवाह गरेको पाइने गरेको छ। विवाह गरेको खुलेमा त्यस्तो निवेदनलाई बदर गरी बालबालिकालाई आफन्तको जिम्मा लगाउने काम हुँदै आएको प्रहरीले बताएको छ।

कानुनतः विवाह गर्ने उमेर २० कायम गरिएको छ। २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ। शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने चिकित्सकहरु बताउँछन्। मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७३ मा विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकिएको छ।

उक्त कानुनी व्यवस्थाको उल्लंघन गरेमा बढीमा तीन बर्षसम्म कैद र ३० हजार रुपैयासम्म जरीवाना गर्न सक्ने व्यवस्था छ।

Loading...