अत्तरिया : जल तथा मौसम विज्ञान विभागले आज बिहीबारेदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ ।
विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने बताउनुभयो ।
विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आगामी २४ घण्टामा कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।
