कैलाली : सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको सात सदस्यीय प्राविधिक टोलीले कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक अध्ययन थालेको छ।
टोलीले मंगलवार कर्णाली पुलको अवलोकन तथा परीक्षण थालेको हो। पुलमा आगलागी भएर क्षति भएको जानकारी प्राप्त भएपछि प्रारम्भिक अध्ययन थालिएको पुल महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर कृष्णराज अधिकारीले बताए।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नं को ट्रकमा सोमबार एक्कासी आगलागी भएको थियोे। ट्रकमा लागेको आगो नियन्त्रणमा लिन चार घण्टा बढी समय लागेको थियो।
एक हजार एक सय कार्टुन लाइटर बोकेको ट्रक जलेर नष्ट भएको थियो। आगलागीबाट कर्णाली पुलका १४ वटा डोरीमा आंशिक क्षति पुगेको थियो। सन् १९९३ मा कर्णाली पुल निर्माण गरिएको थियो ।
उक्त पुलको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५० मङ्सिर २८ गते उद्घाटन गरेका थिए। गुडिरहेको ट्रकमा लागेको आगोबाट क्षतिपुगेपछि कर्णाली पुलमा हाल सवारी आवागमन बन्द गरिएको छ।
